March 21st, 2020

नेपाल बैंकर्स संघको आकस्मिक बैठक, के-के भए निर्णयहरु ?

बैंकिङ खबर । कोरोना भाइरसको त्रास बढ्न दिन प्रतिदिन बढ्न थालेपछि हिजो शुक्रबार नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो । सो बैठकले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । अब आउँदो आइतबार अर्थात चैत ९ गतेबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने संघले जनाएको छ । हिजो कायम मुकायम गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रका कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने निर्णय गरेको छ ।
डिजिटल कारोबार निःशुल्क हुँदा बैंकको काउन्टरमा हुने भिडभाड कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।
कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम नोट पनि हुन सक्ने भन्दै सम्भव भएसम्म नोट कारोवारको सट्टा कार्ड तथा विधुतिय कारोवारको माध्यम अपनाउन समेत आग्रह गरीएको छ । यस्तै, नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने Connect IPS सेवामा समेत शुल्क नलाग्ने भएको छ । ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या आएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्ति मार्फत जनाइएको छ ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह समेत गरेका छन् ।

अत्यावश्यक सेवामा रहेको कारण बैंक र बीमा भने बन्द नहुने
कोरोनाका संत्रासका कारण देशका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएको छ । अत्यावश्यक सेवाको सूचीमा बैंकिङ क्षेत्र रहेको हुँदा यस क्षेत्र भने बन्द नहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गर्नुभएको छ । यस अत्यवाश्यक सेवाको सूचीमा बैंक र बीमा समावेश रहेकोले बैंकिङ र बीमा सेवा भने सुचारु रहनेछ । तर आउँदो आइतबार अर्थात भोली देखि सेयर कारोबार भने बन्द हुने भएको छ । अत्यवाश्यक सेवाको सूचीमा सेयर बजार नभएकोले सेयर कारोबार बन्द हुने भएको हो ।
यस्तै ओलीले विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने बताउनुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]