March 20th, 2020

साताभर केके भयो वित्तीय क्षेत्रमा ? यस्ता छन्, मूख्य खबरहरु

बैंकिङ खबर । यो साताबाट कोरोनाको प्रत्यक्ष प्रभाव नेपालमा देखिन थालेको छ । संक्रमण फैलिसकेको नभएतापनि फैलिन नदिन विभिन्न उपायहरु अवलम्बन गर्न थालिएका छन् । बैंकहरुले नोटको कारोबार कम गर्न विद्युतीय कारोबारका लागि प्रोत्साह गरेका छन् । अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्न थालिएका छन् भने उडानहरु पनि बन्द गर्न थालिएका छन् । स्कुल कलेजहरु बन्द भइसकेका छन् । परीक्षाहरु स्थगित भएका छन् । समग्रमा, देशको समग्र आर्थिक क्रियाकलापमा प्रभाव परेको छ ।

विद्युतीय कारोबार गर्न प्रोत्साहन
कोरोना संक्रमणको माध्यम नोट समेत हुन सक्ने भन्दै बैंकहरुले विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेका छन् । यसका लागि बैंकहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम लगायतका डिजिटल सेवाहरु निःशूल्क गरेका छन् । सम्भव भएसम्म बैंकमा नजान उनीहरुले आग्रह गरेका छन् । बैंकहरु पनि खुला नै रहनेछन् ।

शेयर कारोबार पनि बन्द गर्ने छलफल हुँदै
केही दिनका लागि शेयर कारोबार समेत बन्द गर्ने छलफल सुरु भएको छ । धितोपत्र बोर्डले सावधानी अपनाउन भन्दै प्रेस विज्ञप्ती जारी गरिसकेको छ । बोर्डले, कार्यालयमा पाँच जनाभन्दा बढी जम्मा नहुन, ब्रोकरहरुको स्क्रीन एक्जिविसन रुम बन्द गर्न र अन्य आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ । कारोबार बन्द गर्ने विषयमा भने छलफल भइरहेको छ ।

माघसम्मको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा
राष्ट्र बैंकले माघसम्मको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसमा कोरोना संक्रमणको प्रभाव देखिएको छ । जसअनुसार, रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ । सात महिनामा जम्मा ५१३ अर्ब रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, वैदेशिक व्यापार, विदेशी मुद्रा संचिति लगायतका क्षेत्रमा पनि प्रभाव देखिएको छ ।

राष्ट्र बैंकका गभर्नरको विदाई
डा. चिरंजीवि नेपाल राष्ट्र बैंकबाट विदा भएका छन् । आफ्नो गभर्नरको कार्यकाल सकिएपछि उनी यसै साता विदा भएका हुन् । सामान्यतयाः कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि विदा बस्ने प्रचलन भएतापनि उनले अन्तिमसम्म कार्य गरेका छन् । तत्कालका लागि कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई दिइएको छ । गभर्नर नियुक्तिको प्रक्रिया जारी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा सम्बन्धी नयाँ विनियमावली जारी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा सम्बन्धी नयाँ विनियमावली जारी गरेको छ । विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्तिका लागि पूरा गर्नुपर्ने प्रक्रिया, परीक्षाको पाठ्यक्रम निर्धारण, उमेर हद तथा योग्यता, तालिम, तलब, भत्ता एवम् सेवा सुविधा, हाजिरी र बिदा, सरुवा तथा वृत्तिविकास, बढुवा, कार्यमूल्यांकन लगायतको व्यवस्थापारे स्पष्ट रुपमा उल्लेख गरिएको छ । साथमा सेवामा रहँदा कर्मचारीले पालना गर्नुपर्ने आचरण र आचरण पालना नगरेको अवस्थामा भागी हुनुपर्ने कारबाहीका विषयमा पनि स्पष्ट व्यवस्था गरिएको छ ।