रिलायबल डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले आव २०७१/७२ को मुनाफाबाट सो अनुपातमा बोनस शेयर वितरण गर्न लागेको हो । बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभामा सो प्रस्ताव पारित गरिएको हो । बोनस शेयर पश्चात् शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । त्यस्तै, बैंकले १ सय ९५ प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५ सय १५ र सर्वसाधारण समूहको ४ सय ९५ शेयर स्वामित्व कायम गर्ने भएको छ ।
बैंकको शुक्रबारसम्मको निक्षेप ८ अर्ब १२ करोड र कर्जा लगानी ६ अर्ब ५८ करोड रहेको छ । साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूंजी रहेको यस बैंकले अधिकृत पूंजी वृद्धि गरी ३ अर्ब पुर्याउने भएको छ ।




