बैंकिङ खबर । अब सुन निक्षेपमा राखेर व्याज लिन सकिने भएको छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले गरेको व्यवस्थाबमोजिम नेपाल राष्ट्र बैंकले यससम्बन्धी निर्देशन जारी गरेको हो । जसअनुसार ग्राहकले पैसाजस्तै गरी सुन बैंकमा राख्न पाउनेछन् र निक्षेपमा जस्तै व्याज पनि पाउनेछन् ।
बैंकले निक्षेपकर्ताबाट शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेशको सुनमात्र स्वीकार गनुपर्ने व्यवस्था गरिएको छ । बैंकले न्युनतम २५ ग्राम परिमाणको सुनलाई कम्तीमा तीन वर्ष र अधिकतम पाँच वर्षसम्मका लागि निक्षेपमा स्वीकार गर्नेछ । अवधि सकिएपछि सुन निक्षेपलाई नवीकरण गर्न पनि सकिन्छ ।
बैंकले निक्षेपमा सुन राखेको प्रमाणपत्र दिनेछ । सोही प्रमाणपत्रको आधारमा ग्राहकले ७० प्रतिशतसम्म कर्जा समेत पाउन सक्छन् । निक्षेपको रुपमा राखिएको सुनको व्याजदर बैंकले नै निर्धारण गर्नेछन् । बैंकले सुनको निक्षेपमा दिएको व्याजदरमा २ प्रतिशतसम्म थप गरी कर्जाको व्याजदर तोक्न सक्ने व्यवस्था गरिएको छ ।
१० लाखभन्दा बढी मूल्यको सुन राख्दा स्रोत खुलाउनपर्ने व्यवस्था गरिएको छ । वाणिज्य बैंकहरुले निक्षेप खातामा लिएको मितिको मुल्य र भुक्तानी गर्ने मितिको मुल्य सुन चाँदी व्यवसायी महासंघले तोकेको बजार मुल्य बमोजिम मुल्यांकन गनुपर्नेछ । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गनुपर्ने हुन्छ ।