March 4th, 2020

व्याजदर निर्धारणमा बैंकहरुको मनपरी : निक्षेप चाहिँदा बढाउने, नत्र घटाउने

बैंकिङ खबर । पछिल्लो समय सबै बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । बुधबार मात्रै प्रभु बैंकले बचतको व्याजदर घटाएर अधिकतम ५.५ प्रतिशत कायम गरेको छ । केही बचत योजनामा व्याजदर ३.५ प्रतिशतमा समेत झारेको छ । स्यालरी, स्पेसियल, फरेन, आशिर्वाद र गुडलक बचतमा ५.५, वेलकम, मुआब्जा, खुत्रुके, सिनियर सिटिजन, स्माइल र जीटुपीमा ४ प्रतिशत तथा नरनारी, नर्मल, अनलाइन ट्रेडिङ, पौरखी, स्टुडेन्ट र अनुदानका साथै कल डिपोजिटमा पनि ३.५ प्रतिशत व्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, नविल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, प्राइम बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सेञ्चुरी बैंक लगायतले पनि हालै बचतमा व्याजदर घटाउँदा नयाँ व्याजदर कायम गरेका छन् । समग्रमा सबै बैंकहरुको व्याजदर हेर्दा बचतमा अधिकतम ६ प्रतिशत व्याज दिइएको छ ।

कुनै बेला बैंकहरु लगानीयोग्य पुँजीको अभावमा रहँदा रातारात व्याजदर बढाएर निक्षेप तान्ने होडमा थिए । १२।१३ प्रतिशतसम्म व्याज दिने लोभ देखाएर धमाधम निक्षेप ताने । अब लगानीयोग्य पुँजी जुटाउनका लागि विदेशमा ऋण लिन पाउने लगायतका व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । त्यसमाथि, व्याजदर बढाएर निक्षेप पनि तानिसकेपछि बैंकमा लगानीयोग्य पुँजीमा राहत मिलेको छ । आफ्नो समस्या कम हुनेवित्तीकै बैंकहरु धमाधम व्याजदर घटाउन थालेका छन् ।

यस्तो प्रवृत्ति सँधै नै बैंकहरुमा देखिँदै आएको छ । प्रायः असोज कात्तिकपछि बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुने स्थिती देखा पथ्र्यो । किनकि, यो समयमा वर्षातले काम विगार्ने समस्या नहुने भएपछि घर बनाउने वा अन्य कामहरु सुरु गर्नका लागि उत्तम समय हुन्छ । यसका लागि कर्जाको माग बढिरहेको छ । सो माग पुरा गर्नका लागि बैंकहरु ह्वात्तै व्याजदर बढाएर निक्षेप तान्ने प्रतिष्पर्धामा लाग्छन् । तर, आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम बढ्न थालेपछि बैंकिङ प्रणालीमा पैसा आउन थाल्छ र बैंकहरुलाई लगानी गर्ने रकममा सहज हुन्छ । बैंकमा रकम बढ्न थाल्नेवित्तीकै बैंकहरु व्याजदर घटाउन थालिहाल्छन् । यो प्रवृत्ति निकै वर्षदेखि नै चल्दै आएको देखिन्छ ।

हुन त राष्ट्र बैंकले यस प्रवृत्तिलाई नियालीरहेको हुन्छ । यद्यपि, प्रत्यक्ष रुपमा नै यति नै व्याजदर कायम गर भनेर राष्ट्र बैंकले तोकिदिने नीति छैन । बजारको माग र आवश्यकताकालाई ध्यानमा राखेर व्याजदर निर्धारण गर्न बैंकहरु स्वतन्त्र छन् । यद्यपि, यो स्वतन्त्रतालाई बैंकहरुले मनपरी ढंगले प्रयोग गरिरहेको देखिन थालेको छ ।