July 3rd, 2016

प्रभुले बोलकबोलमा राखेको शेयर २ सय ७५ जनाले पाए

prabhu bankगत जेठ ३२ गतेदेखि असार १५ गतेसम्म बोलकबोलमा खोलिएको प्रभु बैंकको शेयर २ सय ७५ जनाले सकारेका छन् । बैंकले २० प्रतिशत हकप्रद निष्काशन गरेर नबिकेपछि ३ लाख ४१ हजार ८ सय ८५ कित्ता शेयर बोलकबोलमा विक्रि गरेकोमा कुल आवेदक मध्ये २ सय ७५ जनाले मात्रै शेयर सकारेका हुन् । बैंकले १ लाख ८४ हजार ६ सय १४ कित्ता साधारण शेयर र १ लाख ५७ हजार २ सय ७१ कित्ता संस्थापक शेयर लिलामीमा राखेको थियो । जसका लागि बोलकबोलका आधारमा कुल १ हजार ५ सय ८९ जनाले साधारण शेयरका लागि आवेदन दिएकोमा २ सय ५६ जनाले मात्र शेयर सकार्ने मौका पाए भने संस्थापक शेयरका लागि ४३ वटा आवेदन परेकोमा १९ जनाले शेयर सकारे । 

बैंकले लिलाम गरेको साधारण शेयर मुल्यको न्युनतम मूल्य ४ सय ६७ रुपैंया ७ पैसा निर्धारण गरिएकाले उक्त दर भन्दा बढीले शेयर माग्नेले मात्र शेयर पाए । लिलाममा राखिएको प्रभुको साधारण शेयरका लागि अधिकतम ६ सय ७५ रुपैंयासम्मको आवेदन परेको थियो । त्यस्तै संस्थापक शेयरको न्युनतम मूल्य २ सय २८ रुपैंया ५१ पैसा तोकेकोमा अधिकतम ४ सय रुपैंयाँसम्मका लागि आवेदन परेको थियो ।