अघिल्लो भागमा युवाको लागि अवसर साथै बैंक तथा बित्तिय संस्थाहरु र निक्षेप तथा कर्जा सुरक्षण कोषको भुमिका तथा अवसरको संक्षिप्त परिचय गरिएको थियो । आजको भागमा युवा उद्यमशीलता र त्यसको बिकास तथा प्रवद्र्दन गर्न विद्यमान ब्यवस्थाको बारेमा चर्चा गरिनेछ ।
युवा उद्यमशीलता
कडा परिश्रम होईन उमंगसंगै ब्यवस्थित र स्पष्ट योजनासहित हामीले गर्ने जुनसुकै काम उद्यमशीलता हो । कडा परिश्रम भन्ने बित्तिकै मान्छे त्यसबाट भाग्न खोज्छ । त्यसको सट्टा समयको माग र अरुको समस्या समाधान गर्ने कामलाई रोजेर कामलाई रमाईलो संग जोड्न सक्ने सबै उद्यमी हुन । उद्यमशीलताको प्राथमिक उद्देश्य भनेकै अरुको समस्याको समाधान गर्नु भयो भने त्यो व्यवसाय कहिल्यै पनि असफल हुदैन । व्यवसायको अन्तर्निहित उद्देश्य भनेको फेरी नाफा कमाउनु नै हो । तर व्यवहारमा नाफा भन्दा सेवालाई जोड दिएको देखिनुपर्छ । हरेक क्षणमा आउने बिभिन्न प्रकारका परिवर्तनहरुलाई आत्मसाथ गरी प्रविधिलाई पनि जोड्न सके ग्राहक सन्तुष्टी बढाउन सकिन्छ । सन्तुष्ट ग्राहक नै व्यवसायको सफलताका मेरुदण्ड हुन । संचारका बिभिन्न माध्यमहरुको प्रयोगबाट आफ्नो कामको प्रचार प्रसार गरी बस्तु तथा सेवाको जानकारी दिई मागको सृजना गर्न पनि हरदम तयार हुनुपर्दछ ।
पूँजी व्यवस्थापन
कुनै पनि योजना कार्यान्वयन गर्न साधन श्रोतको आवश्यकता पर्दछ । केही अंश आफ्नो तर्फबाट लगानी गरी बाकी नपुग रकम बैंक तथा बित्तिय संस्थाहरुसंग माग गर्न सकिन्छ । अहिले बैंकहरुले बिभिन्न शिर्षकहरुमा धितो तथा बिना धितोमा सामान्यभन्दा सस्तो ब्याजमा अनुदान सहितका कर्जाहरु उपलब्ध गरिरहेका छन । जुन निम्नानुसार छन्,
– व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा
– शिक्षित युवा स्वरोजगार कर्जा
– बैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा
– महिला उद्यमशील कर्जा
– दलित समुदाय ब्यबसाय बिकास कर्जा
– उच्च र प्राबिधिक तथा ब्यबसायीक शिक्षा कर्जा
– भुकम्प पिडितहरुको नीजी आवास निर्माण कर्जा
उपरोक्त कर्जाहरु सबै बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग गर्न सकिन्छ । सहुलियत ब्याजमा महिला उद्यमशीलता कर्जा १५ लाख सम्म पाईन्छ भने अन्य कर्जाहरु ३ लाख देखि ५ करोडसम्म पाईन्छ । आवश्यक प्रकृया तथा कागजातहरु सम्बन्धित संस्थाहरुबाट नै सजिलै बुझ्न सकिन्छ । सहुलियतपुर्ण कर्जासम्बन्धी बिस्तृत जानकारीको लागि नेपाल राष्ट्र बैंकको वेवसाईटबाट सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यबिधि २०७५ पनि अध्ययन गर्न सकिन्छ । जुन कार्यबिधिमा कर्जा प्रकृया, ब्याज अनुदान, धितो, बीमा, कर्जा सुरक्षण सम्बन्धी बिस्तृत रुपमा उल्लेख गरिएको छ ।
बीमासम्बन्धी व्यवस्था
बीमा गर्नु भबिष्यको सम्भावित नोक्सानीलाई न्युनीकरण गर्नु हो । सहुलियतपुर्ण कर्जा उपभोग गर्दा परियोजना लाई अनिवार्य रुपमा बीमा गराई जोखिम हस्तान्तरण गर्नुपर्ने हुन्छ । बीमा गर्दा लाग्ने बीमा शुल्कमा पनि सरकारले सहुलियत दिएको हुन्छ । कुल बीमाशुल्कमा २५ प्रतिशत बिमित पक्षले र बाँकी ७५ प्रतिशत नेपाल सरकारले बीमा कम्पनी लाई सोधभर्ना गर्ने ब्यवस्था छ । परियोजनामा क्षति भई दाबी पर्न आएमा संक्षिप्त प्रक्रिया अबलम्बन गरी ब्यबसायीलाई क्षतिपुर्ति उपलब्ध गराउने ब्यवस्था छ । जुन व्यवसायीक निरन्तरताको लागि उपयोगी हुन्छ ।
कर्जा सुरक्षण सम्बन्धी ब्यवस्था
सुरक्षण बिना प्रवाह भएका कर्जाहरु बिविध कारणले खराब कर्जामा परिणत भएमा लगानी गर्ने बैंक तथा बित्तिय संस्थाहरुको हित सुरक्षण गर्नु कर्जा सुरक्षण हो । निक्षेप तथा कर्जा सुरक्षण कोषले सो कार्य गर्दछ । ब्यबसायीक कृषि तथा पशुपन्छी कर्जा अन्र्तगत प्रबाह भएको दश लाख रुपैया भन्दा बढीको कर्जा बाहेक अन्य कर्जाको सुरक्षणका लागि कर्जाको प्रकार, रकम, तथा जोखिमको स्तर लगायतका आधारमा संक्षिप्त प्रक्रियामा कर्जा सुरक्षण गराउन सकिन्छ । कर्जा सुरक्षण शुल्कमा पनि ७५ प्रतिशत नेपाल सरकारले अनुदानको ब्यवस्था गरेको छ । सुरक्षण शुल्कको बाकी २५ प्रतिशत बैंक तथा बित्तिय संस्थाहरुले बेहोर्नु पर्दछ ऋणीले तिर्नु पर्दैन ।
आजै योजना बनाऔं आफ्नो महत्वपुर्ण समय लाई खेर नफलौ उद्यमी बनौं उद्यमशीलता बढाऔं, उत्पादन बढाऔं स्वरोजगार बनौं र रोजगारी सृजना गरौ ।।
रोकाया कुमारी बैंकमा कार्यरत छन् ।




