विलयको संघारमा थप पाँच विकास बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिको सबैभन्दा ठूलो प्रभाव विकास बैंकलाई परेको छ । मर्जर नीतिअघि ८६ वटा रहेका विकास बैंकहरु मर्जरका कारण २२ मा झरिसकेका छन् भन् अझै पनि यो संख्या घट्ने क्रममा रहेको छ ।

यतिबेला राष्ट्रिय स्तरकै तीन वटा विकास बैंकहरु वाणिज्य बैंकमा गाभिने क्रममा छन् । कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले किन्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै, गण्डकी विकास बैंकले मेगा बैंकमा गाभिने सम्झौता गरेको छ भने देव विकास बैंक कुमारी बैंकमा विलय हुने क्रममा छ ।

यसबाहेक, सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्दैछ । यी दुई बैंकको मर्जर पनि अन्तिम चरणमा पुगेको छ । कञ्चन डेभलपमेन्ट बैंक पनि एनएमबि बैंकमा विलय हुँदैछ । अन्य केही बैंकहरु पनि साधारणसभामार्फत उपयुक्त पार्टनर पाएमा मर्जरमा जाने बाटो खुला गरेर बसेका छन् ।

राष्ट्रिय स्तरका मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंकका साथमा हालै राष्ट्रिय स्तरमा स्तरोन्नति भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हालसम्म मर्जरको बाटो खुला गरेका छैनन् ।

साना विकास बैंकलाई मर्जर नै एक मात्र विकल्प
राष्ट्र बैंकले अगामी २०७७ असार मसान्त भित्रमा क्षेत्रीय स्तरको विकास बैंकलाई १ अर्ब ५० करोड पुँजी पुर्याउन निर्देशन दिँदै पुँजी वृद्धि गर्दा हकप्रद जारी गर्न नमिल्ने र मर्जरलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । उक्त समय सम्म चुक्ता पुँजी पुर्याउन नसक्ने तीन जिल्ला कारोबारको अनुमति पाएका बैंकले हालको लागि कायम गरिएको ५० करोड चुक्तापुँजीमै एउटै प्रदेशमा पाँच जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने विकल्प पनि छ । यस निर्देशनका आधारमा प्रायः साना विकास बैंकहरुसँग मर्जरको विकल्प नै देखिँदैन ।

सहारा विकास बैंकको चुक्तापुँजी १६ करोड ३३ लाख मात्रै छ भने सालपा विकास बैंकको चुक्तापुँजी दुई करोड ८० लाख मात्रै छ । तीन जिल्ले नारायणीको चुक्तापुँजी पाँच करोड ५६ लाख मात्रै छ भने कर्पोरेटको २० करोड छ । यी बैंकहरुसँग विलय हुनुको विकल्प छैन । एक अर्ब १४ करोड पुँजी पुर्याइसकेको तिनाउ मिसन डेभलपमेन्ट बैंक प्रदेशस्तरका कायम रहन सक्ने देखिन्छ । ७८ करोड ७१ लाख पुँजी पुर्याएको सप्तकोशी डेभलपमेन्ट बैंक पनि केही कसरत गरे एक अर्ब २० करोड पुँजी पुर्याउन सक्छ ।

यसबाहेक, ५० करोडभन्दा बढी चुक्तापुँजी भएका ग्रीन, नेपाल कम्युनिटी, सिन्धु, कञ्चन, मितेरी, एक्सेल, कर्णाली र सहयोगी छन् । सहयोगी सिटिजन्स बैंकमा गाभिन लागेको छ । बाँकी विकास बैंकहरु प्रदेश स्तरमा जान नसकेपनि ५० करोड पुँजीमा पाँच जिल्ले कारोबार गर्न सक्ने अवस्थामा छन् । तर, राष्ट्रिय स्तरकै विकास बैंकहरु पनि धमाधम विलय भइरहेको अवस्थामा प्रदेश स्तरका विकास बैंकहरु रहलान् त ?