February 19th, 2020

युथ एण्ड बैंकिङ : भाग एक

खडक रोकाया –

सही सोच र सोचलाई कार्यान्वयन गरी सबैको हितमा काम गर्न सक्ने दृढ ईच्छा शक्ति भएका ब्यक्ति सबै युवा हुन । उमेरले त केवल जिवनको अवधिलाई मात्रै निर्धारण गर्दछ । प्रत्येक सेकेन्डले हामीलाई मृत्युको नजिक बनाईरहेको हुन्छ जुन सत्य कुरालाई बिर्सेर हामी अमर जस्तै गरी बाँच्ने प्रयास गरिरहेका हुन्छौं । जति हामी सत्यबाट भाग्न खोज्छौ त्यति नै जीबनको भोगाई कठिन हुदै जान्छ । आजको युवा पनि सत्यबाट भाग्न खोजिरहेको साथै काल्पनिक र बनावटी कुरामा बढी ब्यस्त देखिन्छ । जुन आगामी दिनमा मानवता र अर्थतन्त्रको लागि प्रत्युत्पादक हुनेछ । आजको प्रतिस्पर्धात्मक बिश्वमा प्रतिस्पर्धाको स्तर धेरै माथि पुगिसकेको छ तर हामी सतही बिकासको क्षणिक आनन्दमा रमाएर ठुला गफ गरीरहेका छौं ।

युवाका लागि अवसर
नेपाल एक अल्पबिकसित देश हो बिकासशील देशको दर्जामा पुग्न पनि अझै केही बर्ष पछिको परीक्षाले निर्धारण गर्नेछ । यसको अर्थ यहाँ कुनै अवसर छैन भन्ने अर्थमा बुझ्नु हुदैन बरु यहाँ त गर्न बाकी कामहरु धेरै छन, धेरै समस्याहरु अझै छन, जुन हामी छानी छानी आफ्नो काम गर्न सक्छौं । हामीहरु बिकसित देशको युवा भएको भए बरु के गर्ने भनेर सोच्नुपथ्र्यो तर यहाँ त कुनै एक समस्याको समाधान गर्न सके मात्रै पनि बेरोजगारीको बहस गरीरहन पर्दैन । तर हामी काम केही नगरी तलब मात्रै बढी पाउने कामको खोजीमा हुन्छौ र त्यस्तो काम यो दुनियामा कहि छैन र हामी बेरोजगार छौं ।
काम सानो ठुलो नभनी आफ्नो क्षमता र योग्यताले धान्न सक्ने काम छनौट गरेर योजनाबद्द रुपमा आए बैंकहरु पनि त्यस्तै ब्यक्तिहरुको खोजीमा छन् । आफ्नै लागि उपलब्ध सेवाहरु र सहुलियतहरु के के छन ती सेवाहरु लिन के प्रक्रिया छन बुझेर ती सुबिधाहरु उपभोग गर्न सके अहिले कुनै पनि ब्यक्ति बेरोजगार भएर बस्नुपर्दैन । यदि हाम्रो युवाहरु साच्चिकै अवसरको खोजिमा हुन्थे भने बिभिन्न शिर्षकमा उपलब्ध हुने सहुलियतपुर्ण कर्जा लिन अहिले बैंकहरुमा भिडभाड हुनुपथ्र्यो तर कसैलाई चासो नै छैन ।

बैंकहरुका लागि अवसर
नेपालका बैंकहरु प्रविधिमा आधुनिक स्तरमा पुगेपनि काम गर्ने शैली अझै परम्परागत नै छ । नीति तथा नियममा सबैका लागि बैंकिङ गर्ने प्रतिबद्दता गरेका भए पनि ब्यबहारिक रुपमा सहज रुपमा उद्यमशीलता बिकास गर्नमा त्यति खुलेर काम गरेको पाईदैन । बैंकहरुले कर्जाको सदुपयोगको सुनिश्चितता खोजेको हुन्छ जुन अहिले बैंकहरुले पाईरहेका छैनन् । त्यसको प्रमुख कारण अहिलेका युवाहरुको मनोबिज्ञान हो । अनि युवाहरुको मनोबिज्ञानलाई सरकारी नीति तथा राजनितिक परिबेशले प्रभाव पारेको छ । सरकारी नीतिले संबोधन गरेका कुराहरुको कार्यान्वयनमा शंका उत्पन्न हुनु भनेको कानुनी राज्यको प्रत्याभुति नहुनु हो ।
अहिले सबै बर्ग र क्षेत्रका जनताको उद्यमशीलता प्रबद्र्दन गर्न बैंक तथा बित्तिय संस्थाहरुले बिभिन्न शीर्षकमा आफ्ना सहुलियत सहितका प्रडक्टहरु ल्याएका छन अझ संख्या नै तोकेर बिपन्न बर्ग तथा साना उद्यमी कर्जाहरु उपलब्ध गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन नै दिएको छ । तर त्यो कुरा आम जनतामा ब्यापक रुपमा पुग्न सकेको छैन । वित्तीय साक्षरताका नाममा बचत खाता खोल्न आग्रह गर्ने काम मात्रै भएको छ । राष्ट्रिय उत्पादन बृद्दि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बैंकहरुले आफ्ना कार्यक्रमहरु लाई व्यापक रुपमा प्रचार गरेर युवाहरुलाई काम दिन सके वास्तविक संस्थागत सामाजिक उत्तरदायित्व हुनेछ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको संयुक्त लगानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना भएको छ । नेपालमा संचालित सबै बैंक तथा बित्तिय संस्थाहरु यसका सदस्य हुन । साना निक्षेपकर्ताको निक्षेप र ऋणीहरुको ऋण सुरक्षण गरी निक्षेपकर्ता तथा लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुको हित सुरक्षण गरी बैंकिङ पहुँच बिस्तार र बिकास गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । तर धेरैलाई यो कोषको बारेमा थाहा नै छैन । निक्षेप तथा कर्जा सुरक्षण कोषले पनि आफ्नो उद्देश्य पुरा गर्न आफ्ना कार्यक्रमहरु व्यापक गर्नुपर्छ ।
केही गर्छु भन्ने सोचका साथ युवा अगाडी आउनैपर्छ, सो सोचलाई कार्यान्वयन गर्न आर्थिक पक्षलाई बैंक तथा बित्तिय संस्थाहरुले साथ दिनुपर्छ र निक्षेप तथा कर्जा सुरक्षण कोषको भुमिका पनि त्यतिकै अपरिहार्य छ ।
आगामी भागहरु पनि नछुटाउनुहोला । सेयर गरौं, राष्ट्रिय उत्पादन बढाऔं ।

रोकाया कुमारी बैंकमा कार्यरत छन् ।