बैंकिङ खबर । नयाँ लघुवित्त खुल्ने क्रमसँगसँगै लघुवित्तहरु मर्जरमा जाने क्रम पनि तीव्र रुपमा अघि बढिरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तलाई विभिन्न सुविधा दिने घोषणा गरेपछि अधिकांश लघुवित्तहरु मर्जरमा गइसकेका छन्, केही प्रक्रियामा छन् भने केही पार्टनरको खोजीमा छन् ।
कुनकुन जाँदैछन् मर्जरमा ?
हालै दाङको महिला सामुदायिक लघुवित्त र पोखराको जाल्पा लघुवित्तले मर्जर सम्झौता गरेका छन् । मर्जरपछि बुटवलमा केन्द्रीय कार्यालय राखी राष्ट्रिय स्तरको कारोबार गर्ने लघुवित्तको योजना छ । कैलालीका एनआरएन लघुवित्त र किसान लघुवित्तका साथमा काभ्रेको दिव्य लघुवित्त एक आपसमा गाभिँदै छन् । एनआरएनले यसअघि रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई मर्ज गरेको थियो । यता, किसानले काभ्रेको मिर्मिरे र झापाको नागवेलीसँग गरेको मर्जर सम्झौता तोडेको थियो ।
उन्नति माइक्रोफाइनान्स र सहकार्य माइक्रोफाइनान्सको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । सूर्यादय लघुवित्त र त्रिलोक लघुवित्तको मर्जर प्रक्रिया पनि अन्तिम चरणमा छ । धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त पनि मर्जर प्रक्रियामा छन् ।
पार्टनरको खोजीमा दर्जनौँ लघुवित्त
स्वस्तिक लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, स्पर्श लघुवित्त लगायतले वार्षिक साधारणसभामार्फत मर्जरका लागि बाटो खुला गरेका छन् । त्यस्तै, ग्रामीण विकास लघुवित्त, घरेलु लघुवित्त, लक्ष्मी लघुवित्त, आशा लघुवित्त लगायतले पनि साधारणसभामार्फत मर्जरको बाटो खुला गरी पार्टनरको खोजीमा लागेका छन् ।
राष्ट्र बैंकको गत असोज मसान्तसम्मको तथ्यांक अनुसार ८९ वटा लघुवित्त वित्तीय संस्था संचालनमा छन् । जसमध्ये केही लघुवित्तको मर्जर प्रक्रिया पुरा भइसकेको छ । कालिका लघुवित्त र जनसेवी लघुवित्तले एकीकृत कारोबार सुरु गरिसकेका छन् । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तको पनि एकीकृत कारोबार सुरु भइसकेको छ । यसबाहेक, दर्जनबढी लघुवित्त मर्जर प्रक्रियामा छन् भने दर्जनौँ लघुवित्त मर्जरमा जानका लागि छलफल गर्दैछन् ।