January 22nd, 2020

लघुवित्त वित्तीय संस्थाको कर्जा जोखिममा

बैंकिङ खबर । लघुवित्त विपन्न वर्ग एवम् ग्रामीण भेगका जनताका लक्षित संस्था हो । आँट र सीप भएर पनि पैसाको अभावमा उद्यम गर्न नसकेका व्यक्तिहरुलाई लघुवित्त वित्तीय संस्थाले कर्जा प्रदान गर्दछ । गरिबी न्युनीकरण गर्न र ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तको विकास भएको हो । यसरी स्थापित लघुवित्त वित्तीय संस्थाहरुको संख्या नेपालमा ९१ पुगेको छ । एउटै गाउँमा धेरै वटा लघुवित्त वित्तीय संस्था पुगेका छन् । जसको फाइदा उठाउँदै केही व्यक्तिहरुले कर्जाको दुरुपयोग गरेका कारण लघुवित्तको क्षेत्रको कर्जामा जोखिम बढ्दै गएको छ ।

एउटै व्यक्ति २४ लघुवित्तको ऋणी
धितो विना नै सजिलै कर्जा पाइने भएपछि यसको दुरुपयोग गर्नेहरुको संख्या बढ्दो छ । एउटा लघुवित्तबाट लिएको कर्जा चुकाउन अर्को लघुवित्तबाट कर्जा लिने गर्दा गर्दै एकै व्यक्तिले २४ लघुवित्तबाट कर्जा लिएको समेत पाइएको छ । यो प्रवृत्ति लघुवित्त क्षेत्रका लागि पक्कै पनि सुखद कुरा होइन । लघुवित्तले उद्यम गरेर आएको आम्दानीबाट चुक्ता गर्छ भन्ने विश्वासमा कर्जा दिएको हुन्छ । उद्यममा लगानी भएन भने ऋणीले उक्त कर्जा चुक्ता गर्न सक्दैन र अर्को लघुवित्तबाट कर्जा लिन्छ । फेरि त्यो लघुवित्तको कर्जा चुकाउन अर्कोबाट लिन्छ । श्रम नै नगरी पैसा पाउने भएपछि यो क्रम कहिल्यै रोकिँदैन । यस प्रवृत्तिले धेरै वटा लघुवित्तको कर्जा खेर जान्छ । उद्यमशीलता विकासमा काम आउँदैन ।

कर्जा सूचनामा लघुवित्त पछाडी
लघुवित्तको कर्जाको दुरुपयोग हुनुको प्रमुख कारण भनेकै कर्जा सूचनाको व्यवस्थापन नहुनु हो । कुन लघुवित्तबाट कसले कर्जा लगेको छ भन्ने थाहा नहुने भएपछि जसले जुनबाट जति बेला पनि कर्जा लिन सक्छ । एउटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले अर्कोमा कर्जा लिन गएको थाहा पाउनका लागि कर्जा सूचना केन्द्रको व्यवस्था गरिनुपर्छ । प्रवाह भएको कर्जा सही ठाउँमा प्रयोग भएको छ छैन भनी अनुगमन पनि गर्नुपर्छ । कर्जा फिर्ता आएको छँदैछ भनेर लघुवित्तहरु चुप बस्यो भने कर्जाको दुरुपयोग झन् बढ्छ । कर्जा लिन आउने व्यक्तिले यसअघि कतै कर्जा लिएो छ छैन भनी जाँचबुझ नगरी कर्जा प्रवाह गर्नुहुँदैन । लघुवित्तका ऋणीहरुको यस किसिमको जानकारीका लागि समन्वयन गर्न कर्जा सूचना केन्द्रको आवश्यकता देखिएको छ ।

मर्जरपछि झन् समस्या
अहिले लघुवित्तहरु धमाधम मर्जरमा गइरहेका छन् । मर्जरपछि यस्ता ऋणीहरुबाट ऋण असुली गर्न झन् समस्या हुने देखिन्छ । मर्जरपछि बन्ने संस्था ठूलो हुन्छ, शाखा धेरै हुन्छन् र ऋणीहरु पनि धेरै हुन्छन् । अध्ययन अनुगमन गर्ने क्षेत्रको विस्तार हुन्छ । जोखिममा रहेको कर्जाको हिस्सा बढ्दै जान्छ । त्यसैले, बैलैमा संयमता अपनाएर सदुपयोग हुने ग्यारेन्टी भएका व्यक्तिहरुलाई मात्रै कर्जा प्रदान गर्ने, ऋणीहरुका बारेमा जाँचबुझ गर्ने, कर्जाको सदुपयोगीताको बारेमा अनुगमन गर्ने र दुरुपयोग गर्नेलाई कारबाही गर्ने गर्नुपर्छ ।

लघुवित्तबाट ऋण लिने ऋणीहरु कमजोर हुन्छन् । कृषिमा निर्भर भएका वा ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरु लघुवित्तका ग्राहक हुन्छन् । त्यसमाथि लघुवित्तले धितोबिना नै कर्जा दिने भएकाले जोखिम यसै पनि बढी हुन्छ । त्यसैले, यस विषयमा ध्यान दिनु आवश्यक छ । साँच्चै उद्यम गर्ने हो भने एउटा लघुवित्तबाट लिएको कर्जा पर्याप्त हुन्छ । राम्रो काम गर्दै गयो भने व्यवसाय विस्तारका लागि सोही लघुवित्तबाट थप कर्जा पनि पाइन्छ । यसको मतलब धेरै वटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले उद्यम गरेका हुँदैनन् । एउटाबाट लिएको कर्जा फजुलमा खर्ब गरेपछि कर्जा तिर्न सक्दैनन् र अर्कोबाट कर्जा लिन्छन् । यसरी परिश्रम नै नगरी पैसा कमाउने मनशाय भएकाहरुले लघुवित्तलाई प्रयोग गर्ने गरेको पाइएको छ । यस विषयमा बेलैमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]