January 19th, 2020

बीमा कम्पनीहरु : चुक्तापुँजीमा कुन-कुन कमजोर ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि कमजोरलाई मर्ज गराउने नीति लिइएको छ । बीमा समितिले निर्देशन पनि दिइसकेको छ । यद्यपि, कतिपय बीमा कम्पनीहरुले न त निर्देशनबमोजिम चुक्तापुँजी पुर्याएका छन्, न त मर्जर प्रक्रिया अघि बढाएका छन् । समितिको निर्देशनअनुसार, निजिवन बीमा कम्पनीले एक अर्ब र जीवन बीमा कम्पनीले दुई अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि समितिले दिएको म्याद सकिसकेको छ । तर, अझै पनि प्रायः कम्पनीको चुक्तापुँजी पुगेको छैन ।

जीवन बीमा कम्पनीहरु
गत असोज मसान्तसम्मको तथ्यांकअनुसार, १९ वटा जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्यारेन्स, प्राइम लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी दुई अर्बमाथि रहेको छ । यसबाहेकका कम्पनीहरुमा सबैभन्दा कम चुक्तापुँजी राष्ट्रिय बीमा संस्थानको १८ करोड रुपैयाँ रहेको छ भने गुराँस लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ९३ करोड ८५ लाख रुपैयाँ मात्रै रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ७५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने आईएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल आइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सको एक अर्ब ५० करोड रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

यी मध्ये, नयाँ जीवन बीमा कम्पनीहरुको पुँजी पुर्याउने समय बाँकी छ । युनियन, रिलायन्स लगायत केही कम्पनीले साधारण शेयर जारी गर्न लागेका छन् । जसपश्चात्, उनीहरुको चुक्तापुँजी दुई अर्ब पुग्नेछ ।

निर्जिवन बीमा कम्पनीहरु
निर्जिवन कम्पनीहरुको अवस्था पनि उस्तै छ । कुल २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये, एभरेष्ट इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्बमाथि रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले पनि हकप्रद शेयर जारी गरेर चुक्तापुँजी पुर्याएको छ ।

अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको चुक्तापुँजी ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको २६ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ३० करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ८६ करोड रुपैयाँ रहेको छ ।

अजोड र सानिमाले साधारण शेयर निष्काशन गर्दैछन् भने आईएमई र प्रभुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । केही कम्पनी शेयर जारी गरेर पुँजी पुर्याउने अवस्थामा रहे तापनि केहीलाई भने अरु नै विकल्प खोज्नुपर्ने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]