Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

टेक्नोलोजीको फड्को : मोवाइलमै बैंक, मोवाइलबाटै अर्थतन्त्र

२०७६ पुष ७ गते

बैंकिङ खबर । प्रविधिको विकास विश्वव्यापी रुपमा नै तीव्र गतिमा भइरहेको छ । कम लागतमा धेरै काम सहज तरिकाले हुने भएपछि हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढीरहेको छ । नेपालमा पनि हरेक क्षेत्र विस्तारै प्रविधिमैत्री बन्दै गइरहेको छ । हातहातमा स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि जुनसुकै स्थान र समयबाट ठूलाठूला कारोबारहरु गर्न सम्भव भएको छ । कर तिर्न, मोबाइल रिचार्ज गर्न, विजुली, पानी, बत्ती, टेलिफोन लगायतको बिल भुक्तानी गर्न, हवाइजहाज, बस, सिनेमा लगायतको टिकट बुकिङ गर्न लगायत हरेक काम मोबाइलबाट तुरुन्तै गर्न सकिने भएको छ ।

अहिले आफूले जागीर गरेको तलब हातमा थापिरहनु पर्दैन, सीधै बैंकमा जम्मा हुन्छ । शेयर खरिद गर्नका लागि घन्टौँ लाइन बस्नुपर्ने समस्या पनि छैन । सीधै अनलाइनबाट शेयर खरिदविक्री गर्न सकिन्छ । बैंक खाता खोल्नका लागि समेत बैंकसम्म धाउनु पर्ने छैन । बैंकहरुले अनलाइनबाटै खाता खोल्न मिल्ने सुविधा ल्याएका छन् । एउटा बैंक खाताबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न पनि बैंक जानुपर्दैन ।

सपिङ पनि अनलाइनबाट गर्न सकिन्छ । उक्त सामानको रकम भुक्तानी पनि बैंक खाता मार्फत सीधै गर्न सकिन्छ । मोबाइल वालेटबाट रकम भुक्तानी गर्दा अझ छुट पनि पाइने व्यवस्था छ ।
इन्टरनेटको व्यवस्था भएपछि मोबाइलमा सबै सेवा सुविधा अटाएका छन् । बैंक मात्र हैन प्रयोग गर्न जाने सींगो अर्थतन्त्र नै मोबाइलमा अटाउँछ । अनलाइनबाट शिक्षा लिन सकिन्छ, स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिन्छ । अनलाइन क्लासहरु उपलब्ध हुन्छन् । सरकारी जागीरका लागि अनलाइनबाटै एप्लाई गरी रकम भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यसरी प्रविधिका कारण हरेक काम सहज र छिटो भएको छ । कार्यालय खोज्ने, लाइन बस्ने, क्यास बोकेर हिँड्ने जस्ता थुप्रै झन्झट हटेको छ । प्रविधिको मामलामा बैंकिङ क्षेत्र निकै अगाडी देखिएको छ । प्रविधिको विस्तारसँगै प्रयोगकर्ता पनि बढेका छन् । गत आर्थिक बर्ष २०७५।७६ को अन्त्य अर्थात असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले देशभर ३,३१६ वटा एटीएम बुथहरू जडान गरिसकेका छन् । डेबिटकार्ड काप्रयोगकर्ता ६७ लाख आठहजार पाँच सय २१ पुगेका छन् भने क्रेडिट कार्डका प्रयोगकर्ता एक लाख २३ हजार एक सय ४६ पुगेको छ । मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुगेको छ । इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या नौ लाख पुगेको छ । यस्तै, शाखारहित बैंकिङ्ग केन्द्रको संख्या १५०३ पुगेको छ ।

प्रविधिको विस्तारले कारोबार गर्न सहज र छिटो हुनुका साथै पारदर्शीता पनि बढेको छ । प्रयोग गर्न नजान्दा केही अप्ठ्याराहरु प्नि छन् । तर, सदुपयोग गर्न जान्ने हो भने प्रविधिले मानव जीवनमा निकै सुविधा ल्याएको छ । घरमै बसीबसी सम्पूर्ण कारोबार गर्न सकिने वातावरण बनेको छ ।

Ad