२०७६ मंसिर २९ गते

औधोगिक विवाद के हो ? यसका कारण र समाधानका उपायहरु


प्रदिप खतिवडा ।

 संगठनमा कर्मचारी र व्यवस्थापनबिच हुने मनमुटाव, असमझदारी, अन्तर वा असतुष्टीलाई सामुहिक रुपमा व्यवस्थापनको सुचनामा आउनेगरी गरीएको विवादलाई औधोगिक विवाद भनिन्छ,जसलाई बन्द तथा हड्तालको स्वरुपमा प्रदर्शन गरीन्छ ।
शान्तीपूर्ण औधोगिक सम्बन्ध बिग्रदै जाँदा तनाव र विवाद बढ्ने जसलाई सामुहिक सौदावाजी वा अन्य समाधानका माध्यमबाट सहमतिमा पुग्दा पुनः औधोगिक शान्ति कायम हुन्छ । यसर्थ औधोगिक विवाद अल्पकालिन प्रक्रितिको हुन्छ ।
औधोगिक विवाद कर्मचारीहरुको असन्तुष्टि प्रदर्शन गर्ने माध्यम भएकाले दिगो औधोगिक शान्तीका लागि यस्तो विरोध आवश्यक छ जसमा कार्यबाट अलग हुने, कालो पट्टी बाँध्ने, ढिला काम गर्ने, विरोधको पर्चा बाढ्ने, भोक हड्ताल, तालाबन्दी सम्मका गतिविधिहरु सञ्चालन गर्दछ ।

औधोगिक विवाद उत्पन्न हुने कारणहरु देहाय बमोजिम छन् ।
१. बजारको महङ्गी र आधारभुत आवश्यक्ता पुरा नहुने तलब भएमा वा नियमित समायोजन नभएमा ।
२. संगठनको नाफाको केही हिस्सा बोनसको रुपमा वितरण नगरीएमा ।
३. कार्यस्थलको न्युनतम सुविधाको अभाव भएमा ।
४. कर्मचारीका सामुहिक असन्तुष्टि वा ट्रेड युनियनको मागलाई वेवास्ता गरिएमा ।
५. विवाद समाधानमा सरकारी संयन्त्र प्रभावकारी नभएमा
६. व्यवस्थापकीय शैली निरंकुश र कर्मचारी संगठनलाई उपेक्षा गर्ने भएमा ।
७. व्यवस्थापनमा कर्मचारीको प्रतिनिधिको सहभागिता बिना कर्मचारीसँग सम्बन्धित निती निर्माण भएमा ।
८.मानवश्रोत व्यवस्थापनका कार्यहरु जस्तै : प्राप्ती,विकास,सदुपयोग र सम्भारमा वैज्ञानिक व्यवस्थित र एकरुप विधिको प्रयोग नगरीएमा
९. कर्मचारीका असन्तुष्टी र विवादलाई सामुहिक सौदावाजी वा छलफलको माध्यमबाट अन्त्य गर्ने मनस्थिती नभएमा
१०. संगठनमा दुईतर्फी सञ्चार अवरोध भएमा
११. समान प्रकृतिको अर्को संगठनभन्दा न्युनतम सेवा सुविधा र व्यवस्थापकिय व्यवहार भएमा
औधोगिक विवाद बढ्दै गएमा संगठनको उत्पादकत्व घट्ने औधोगिक शान्ती खलबलिने भएकाले देहाय बमोजिमका उपायबाट समाधान खोजिनुपर्दछ ।

व्यवस्थापन र कर्मचारीका प्रतिनिधि भेला भई सामुहिक सौदावाजीका माध्यमबाट समाधान खोजिनुपर्दछ ।
विवाद र पक्षहरुलाईकानुनले तोकेको अधिकारीको मध्यस्थकर्तामा दुवैको गुनासो सुनेर दुवै पक्षको हितमा निर्णय गरीनुपर्दछ ।
दुवै पक्षले स्विकार गरेको सहजकर्ताको माध्यमबाट मेलमिलाप गरी विवाद समाधान गरीनुपर्दछ ।
छलफलबाट विवाद समाधान नहँुदा अदालत वा न्यायिक संयन्त्रबाट न्यायिक निर्णय गरीनुपर्दछ, जुन दुवै पक्षलाई बाध्यकारी हुन्छ ।
सल्लाहकारी संयन्त्रको माध्यमबाट दुवैको हितमा हुनेगरी सल्लाह सुझाव दिई विवाद अन्त्य गरिनुपर्दछ ।
व्यवस्थापन र कर्मचारी दुवैले पालना गर्ने गरी आचरण र अनुशासन संहिता तयार गरी लागु गरीनुपर्दछ ।
कर्मचारीका असन्तुष्टीहरुलाई नियमित सुनुवाई र समाधान गर्न गुनासो सुनुवार्य संयन्त्र तयार गरीनुपर्दछ ।

निष्कर्ष : 
औधोगिक विवाद कर्मचारीका असन्तुष्टीहरु प्रदर्शन गर्ने माध्यम हो जसको व्यवस्थापकिय प्रक्रियाको माध्यमबाट शान्ती वा द्धन्द निर्धारण हुने गर्दछ, जसलाई असमान तलब, बोनस कार्यअवस्थाले बढाउने र सामुहिक सौदावाजी तथा छलफलको माध्यमबाट न्युनीकरण गर्न सकिन्छ ।
खतिवडा नेपाल सरकारको शाखा अधिकृतका रुपमा कार्यरत छन् ।