बाँकेमा ०६८ सालमा स्थापित एक सहकारी संस्थाले दर्जन बढी व्यक्तिको लाखौं रुपैयाँ हिनामिना गरी ठगी गरेको खुलासा भएको छ । नेपालगन्ज–२४ मा वित्तीय कार्यालय स्थापना गरेको उद्यमशीलता बचत तथा ऋण सहकारी संस्थाले खाताको समयावधि पूरा भएको पाँच महिना पूरा हुँदासम्म पनि भुक्तानी नगरेको, नक्कली चेक दिएको, चेक बाउन्स भएको, पटक–पटक म्याद दिएको लगायतका गुनासोसहित सेवाग्राहीले सहकारी संस्था घेराउ गरेपछि सो तथ्य बाहिरिएको हो ।
यस विषयमा सहकारीका प्रबन्धक धर्मराज केसी भने लगानी भएको स्थानबाट रकम आउन ढिला भएकाले उत्पन्न भएको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउँछन् । करिब १५ दिनभित्र सबैको रकम फिर्ता गर्ने प्रतिबद्धता समेत सहकारीले गरेको छ ।
यसअघि केही महिना पहिले बाँके बचत तथा ऋण सहकारी संस्थाले ग्राहकको करिब ५ करोड बढी ठगी गरेको थियो । हाल सो सहकारीका प्रबन्धकसहित अध्यक्ष र अन्य पदाधिकारी कारागारमा छन् ।