Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यो साता केके भयो बैंकिङ क्षेत्रमा ? (साप्ताहिक हाइलाइट्स)

२०७६ मंसिर १३ गते

बैंकिङ खबर । नक्कली चेक र नक्कली हस्ताक्षर बनाएर बैंकबाट रकम चोरी गर्ने गिरोह पक्राउ परेको खबरले यो साता ठूलै खलबली मचायो । यसबाहेक पनि थुप्रै बैंकिङ गतिविधिहरु भएका छन्ः

नक्कली हस्ताक्षर गरी बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ
खातावालाको नाम र नक्कली हस्ताक्षर गरी लाखौँ रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले बैकमा खाता रहेका विभिन्न व्यक्तिहरूको चेकमा रहेको सिग्नेचर चोरी गर्ने, चेक हराएको भन्दै नयाँ चेक निकाल्ने र सोही चेकबाट रकम निकाल्ने गरेको पाइएको छ । खातावालहरुको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको अनुसन्धानमा खुलेको छ । प्रहरीले उक्त गिरोहबाट आठ सय २५ जना व्यक्तिको खाताको पूर्ण विवरण र फोटो, एटीएम कार्डहरु र चेक बुकहरु बरामद गरेको छ । गिरोहले जनता बैंकबाट २० लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ गरी ३० लाख रुपेयाँ चोरेको पुष्टि भएको छ ।

विदेश जाने विद्यार्थीको बीमामा कडाई
राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बीमामा कडाइ गरेको छ । सम्बन्धित शैक्षिक संस्था वा सरकारी निकायको कागजातका आधारमा बीमा शुल्कबापतको सटही सुविधा दिने यसअघिको व्यवस्थालाई संशोधन गर्दै केन्द्रीय बैंकले विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बीमा कम्पनीको कागजात अनिवार्य गरेको छ भने विदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बीमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैैंकको परिपत्रमा जनाइएको छ ।

सहुलियत कर्जामा थप दुई क्षेत्र
व्याज अनुदानमा ऋण पाउने क्षेत्रहरुमा सरकारले नयाँ दुई क्षेत्र थप गरेको छ । अब कपडा उद्योग र प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि सहुलियत व्याजदरमा ऋण दिइने भएको हो । यसअघि सरकारले ब्यवसायिक कृषि, शिक्षित युवा वेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि अनादनको ऋण उपलब्ध गराउँदै आएको थियो । अब पाँच करोडसम्मको कपडा उद्योगले पनि सहुलियत व्याजमा कर्जा पाउनेछन् । त्यस्तै, प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि दुई लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने भएको छ ।

आरजीटीएस लागू
समय, पैसा र झन्झट समेत कम हुने भएकाले नेपालमा आरजीटीएसको सुरुवात गरिएको छ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरजीटीएस एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो । यो सिस्टममा एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउँछ । तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो । २० लाखमाथिको कारोबारमा यो प्रणाली अनिवार्य गरिएको छ । दुई लाखमाथिको कारोबार आरजीटीएसबाट गर्न थालिएको छ । अहिले वाणिज्य बैंकहरुमा अनिवार्य गरिएकोमा छिटै विकास बैंक र फाइनान्समा पनि अनिवार्य गरिँदैछ ।

ग्लोबल आईएमई र जनता बैंकको एकीकृत कारोबार
जनता बैंक र ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि हुने भएको छ । मर्जरपछि बन्ने ग्लोबल आईएमई बैंक झन्डै १९ अर्ब चुक्तापुँजी, दुई खर्ब १० अर्ब भन्दा बढी निक्षेप, झन्डै दुई खर्ब कर्जा लगनी, झन्डै तीन यि शाखा र ८५० सेवा केन्द्रका साथमा देशकै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।

मेगा बैंक : बैंक अफ दि इयर
मेगा बैंक बैंक अफ दि इयर २०१९ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्रा्ष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

धरौटीमा छुटे बैंकर अजय श्रेष्ठ
सर्वोच्च अदालतले बैंकिङ कसुरका अभियुक्त बैंकर अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायाधिसहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Ad