Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजारले निर्धारण गर्ने अर्थतन्त्र : व्याजदर नघट्ने, बढ्दै जाने

२०७६ मंसिर ४ गते

बैंकिङ खबर । पछिल्लो समय बैंकको व्याजदर बढ्दो क्रममा रहेको छ । लगानीयोग्य पुँजीको अभावको समयमा चर्को व्याज लिएर कर्जा दिने गरेपछि उद्योग व्यवसायहरु नै प्रभावित भएका छन् । व्याजदरको चपेटामा परेका उद्योगीहरुले व्याजदर केही समयमा घट्ने अपेक्षा गरेका थिए । तर, व्याजदर घट्नुको सट्टा झन् बढ्ने संकेत देखिएको छ । बैंकहरुके प्रथम त्रैमासिक वित्तीय विवरणमा सीसीडी रेसियो, आधार व्याजदर, स्प्रेड रेट, कर्जा र निक्षेपकाृ वृद्धिदर लगायतलाई हेर्दा बैंकको व्याजदर आगामी दिनमा अझै आकाशिने देखिएको हो ।

लगानीयोग्य पुँजीको अभाव
आर्थिक वर्षको सुरुदेखि नै आक्रामक रुपमा कर्जा प्रवाह गरेपछि तीन महिनामै लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । एक त निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर बढी हुन थालेको छ, त्यसमाथि प्रवाह भएकाृे कर्जा पनि उठ्न ढिलाई हुन थालेको छ । व्याजदर महँगो भएपछि ऋणीहरुलाई व्याज तिर्न नै गाह्रो भइरहेको छ । जसकारण, बैंकमा लगानीयोग्य पुँजीको झन् अभाव भइरहेको छ ।

सीसीडी रेसियो अन्तिम विन्दुमा
बैंकहरुको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेको अवस्था छ । गत असार मसान्तको तुलनामा अहिले सीसीडी रेसियो ९० आधार विन्दु बढेर ७६.४२ प्रतिशत पुगेको छ । अधिकांश बैंकको सीसीडी रेसियो बढेको छ । बैंकहरुसँग कर्जा दिन सक्ने क्षमता सकिँदैछ । किनकि, सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी पुर्याउन नपाइने केन्द्रीय बैंकको निर्देशन छ । ठूलो संस्थागत निक्षेप परिचालन गरेका बैंकहरुले त ८० प्रतिशत कर्जा प्रवाह गर्न पनि सक्दैनन् ।

आधार व्याजदर बढ्दै
ब्याजदरलाई सबैभन्दा बढी प्रभावित पार्ने तत्व हो बैंकहरुको आधार व्याजदर । यस्तो व्याजदर पनि क्रमशः बढ्दै गएको छ । गत असारदेखि असोजसम्ममा बेस रेट ३ आधार विन्दुले बढेको छ। प्रायः बैंकको आधार व्याजदर बढेको छ । असोज मसान्तको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो लागतमा पैसा चलाउन पाएको छ भने सिभिल बैंकले सबैभन्दा महँगो लागतमा पैसा चलाएको छ । यस आधारमा हेर्दा, राष्ट्रिय वाणिज्य बैंकले सस्तो व्याजमा ऋण दिन्छ भने सिभिलमा निक्षेप राख्दा बढी व्याज पाइन्छ ।

ब्याजदरअन्तर पनि बढ्यो
व्याजदर अन्तर पनि प्रायः बैंकले बढाएका छन् । राष्ट्र बैंकले स्प्रेड रेट घटाउने नीति अघि सारिरहेको छ । राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत बैंकलाई आगामी असार मसान्तसम्म स्प्रेड दर ४.४ प्रतिशतमा झार्न निर्देशन दिएको छ। तर, बैंकहरु भने लगानीयोग्य रकम नभएको भन्दै यस्तो मार्जिन झन् बढाउँदै छन् । अहिलेसम्म जम्मा ५ वटा बैंकलेमात्रै लक्षित सीमाभित्र स्प्रेड झार्न सकेका छन्। साउनदेखि असोजसम्मा नै समग्र वाणिज्य बैंकको स्प्रेड दर ४८ आधारविन्दु बढेको छ।

सीसीडी रेसियो, आधार व्याजदर र स्प्रेड रेटको अवस्था हेर्दा व्याजदर अझै बढ्ने देखिन्छ । लगानीयोग्य पुँजी अभावको समाधानका लागि बेलैमा नसोचे समग्र अर्थतन्त्र नै प्रभावित हुने देखिन्छ । न त निक्षेप राख्नेले धेरै व्याज पाउन सकेका छन्, न त कर्जा सस्तो दरमा पाइएको छ । यस्तो अवस्थामा बैंकहरुले आर्थिक वर्षको सुरुवातदेखि नै विचार पुर्याउनुपर्ने देखिन्छ ।

Ad