Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नयाँ लघुवित्तलाई ग्राहक खोज्नै हम्मेहम्मे, मर्जरकै बाटो सजिलो

२०७६ कार्तिक १९ गते

बैंकिङ खबर । संचालनकै लागि हम्मे हम्मे परेपछि अधिकाँस नयाँ लघुवित्तहरु मर्जरका लागि पार्टनर खोज्न थालेका छन् । लाइसेन्स हात पारेपछि बैंककै मालिक बनिन्छ भन्ने अपेक्षा पालेकाहरुले लघुवित्त क्षेत्रमा देखिएको कठिन पक्ष बुझ्न थालेका छन् । र त लघुवित्त वित्तीय संस्थाहरु खुल्न नपाई मर्जरको योजना बनाउन थालेका छन् । हालै नेपाल राष्ट्रबाट संचालनको अनुमति पाएर कारोबार सुरु गरेका लघुवित्तहरु पनि धमाधम मर्जर सम्झौता गर्न थालेका छन् ।

नयाँ लाइसेन्स दिन रोके पनि राष्ट्र बैंकले पहिले नै आवेदन परिसकेका लघुवित्तलाई र लघुवित्तीय कारोबार गर्ने गैरसरकारी संस्थाहरुलाई लाइसेन्स दिएको थियो । जसअनुसार, गत वर्ष २५ वटा र यस वर्ष दुई वटा नयाँ लघुवित्त संचालनमा आएका छन् । यीमध्ये पनि कतिपय लघुवित्तहरुले मर्जर प्रक्रिया अघि बढाइरहेका छन् भने केही पार्टनरको खोजी गर्दै छन् ।

नयाँलाई नै समस्या, मर्जरको बाध्यता

लघुवित्त क्षेत्र बैंक जस्तो सजिलो छैन, जहाँ ग्राहक आफै आएको होस् । ग्रामिण अर्थतन्त्रमा सवल देखिएको लघुवित्त ससानो पुँजी परिचालनका लागि मेहनती व्यक्ति खोज्दै ग्रामिण क्षेत्रमै पुग्ने गरेका छन् । यसरी हेर्दा अधिकाँस ठाउँमा लघुवित्त पुगेका छन् । जसले गर्दा नयाँलाई ग्राहक भेटाउनै कठिन छ । यसैकारण पनि नयाँ लघुवित्तहरुलाई मर्जर बढी आबश्यकता देखियो । १८ महिनाअघि संचालनमा आएको रुपन्देहीको मनकामना लघुवित्त र ८ महिना अघि मात्रै गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएको स्मार्ट लघुवित्तले मर्जर सम्झौता गरी प्रक्रिया अघि बढाएका छन् । गत वर्षको असोज ११ गते संचालनमा आएको स्वेडा लघुवित्त पनि मर्जर प्रक्रियामा छ । स्वेडा विजय लघुवित्तसँग मर्जरमा जाँदैछ । ०७४ सालमा संचालनमा आएका सारथी लघुवित्त र सत्यवती लघुवित्त पनि मर्जरमा जाँदैछन् ।

२०७३ असोज ४ गतेदेखि संचालनमा आएको नेपाल एग्रो माइक्रोफाइनान्स र गत फागुन २१ गतेदेखि संचालनमा आएको नेष्डो लघुवित्तले पनि मर्जरमा जाने सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तहरुलाई मर्जरबाट विकास बैंक स्तरोन्नति हुन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । साना लघुवित्तहरु आफैँ पनि मर्जरबाट सबल संस्था बन्न चाहिरहेका छन् । त्यसमाथि, मर्जरमा जाने लघुवित्तहरुलाई सहुलियत दिने घोषणा पनि गरिएको थियो । यसै पनि अब साना लघुवित्तहरु कि त प्रदेश स्तरमा जाने कि त अन्यमा विलय हुनैपर्ने अवस्था सिर्जना भइसकेको छ । त्यसैले, लघुवित्तहरु आफैँ मर्जरका लागि हात बढाइरहेका छन् ।

पुरानासँग नयाँको मर्जर उत्तम विकल्प

लघुवित्त वित्तीय संस्थाहरु धेरै भएकै कारण नेपाल राष्ट्र बैंकले मर्जरको नीति बनाएको हो । संचालनमा आउन नसकेका लघुवित्तलाई पनि मर्जरले सजिलो बनाइदिएको छ । पुराना र स्थापीत बाहेक नयाँ लघुवित्तलाई काम गर्न सजिलो छैन । लघुवित्त नपुगेको कुनै जिल्ला बाँकी छैनन् । ठुला र स्थापीत लघुवित्तहरुले गाउँ गाउँसम्म शाखा विस्तार गरेका छन् । पछि विस्तारित भएका लघुवित्तहरुले थप्ने सदस्यहरु कुनै न कुनै लघुवित्तमा आबद्ध भइसेका कारण एउटै व्यक्ति धेरै लघुवित्त वित्तीय संस्थामा जोडिन पुगेका छन् । अहिले यो नै लघुवित्त क्षेत्रमा देखिएको एउटा ठुलो समस्या बनेको छ । नयाँ लघुवित्तहरु संचालन गर्न निकै चुनौती भएको लघुवित्त क्षेत्रमा काम गर्नेहरु बताउँछन् । यसले गर्दा पनि मर्जरका लागि नयाँ र कम्जोर लघुवित्तले पुराना र स्थापीत लघुवित्त रोज्नु उत्तम देखिन्छ ।

Ad