November 1st, 2019

नेपालका लघुबित्त संस्थाहरुमा निस्कृय कर्जा बढ्नुको कारण र न्यूनिकरणका उपायहरु 

अर्जुन पोखरेल । मोहम्मद युनुस त्यस महान व्यक्तित्वको सुपरिचित नाम हो जसले साधारण जीवन विताउने स्वदेशी लुगा लगाउने र गरीब विपन्न परिवारको हितमा सदैव काम गर्ने संकल्प लिई लघुवित्त कार्यक्रम अर्थात ग्रामिण बैकिङ कार्यक्रमको प्रतिपादन गरि संचालन गरे । जसको नाम लघुवित्त संग परिचित जो कोहीलाई पनि नौलो नहोला । सन १९७४मा बांग्लादेशमा ठुलो भोकमरी परेको थियो । त्यसबेला मोहम्मद युनुस चटगांउ विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए । त्यसै समय उनी आफनो विधार्थी सहित भोकमरी प्रभावित गाँउ जाब्रा भिलेज भ्रमणमा पुगे छन् । त्यहाँका महिलाहरुले असाध्यै चर्को ब्याज दरमा कर्जा लिई बांसका घरेलु सामान बनाइरहेका देखेछन् । त्यहि घरेलु सामान बेचे बापत तिनीहरुलाई नगन्य आम्दानी हुने र त्यसैबाट आफ्नो दैनिक गुजारा चलाउनु पर्नेे कुरा सोधपुछका क्रममा पत्ता लगाएछन् । त्यो देखेर युनुसलाई आफुले पढाउने अर्थशास्त्रमा पक्कै पनि कहीं कतै केही गडबडी हुनु पर्छ भन्ने लाग्यो । किनकि कुनै पनि उद्योग संचलन गर्न पँुंजिको आवश्यकता पर्छ त्यो पुंँजि उद्योगीले धितो राखि बैंकबाट कर्जा लिई जुटाउछन् र त्यहि धितो जोगाउन ऋणीहरु उद्योगमा दत्तचित्त भई लाग्नेछन् र उद्योग नाफामा जानेछ भन्ने अर्थशास्त्रको सिद्धान्त असफल भएको पाए । सोहि समयमा उनमा एउटा अबधारणाको जन्म भयो र त्यहि अबधारणालाई परिक्षण गर्न आफनो खल्तीमा भएको करीब २७ डलर बराबरको रकम ४२ जना महिलाहरुलाई बांँडे । ती महिलाहरुले निश्चित समयमा उक्त रकमको साँवा र ब्याज बुझाए र आफनो उद्योगमा पनि उलेख्य प्रगती गरे । जसको परिणाम राम्रो निस्कियो र उक्त सुरुवांत नै ग्रामिण बैकिङ्ग कार्यक्रमको रुपमा परिणत हुन गयो । ब्यापारिक र्बैंक र चर्को ब्याज असुल्ने स्थानिय शाहु महाजनको कारोबारको स्थानमा कम ब्याज दरमा बिना धितो सरल माध्यामबाट कर्जा उपलब्ध गराउनुनै उनले प्रतिपादन गरेको प्रमुख नीति हो र यो समुहको निगरानी र एक अर्का बीचको सहयोग एवं प्रतिस्पर्धामा साना उद्यमी फस्टाउन सक्छन भन्ने सिद्धान्तमा आधारित छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन किनकि नेपालको कुल १,४७,१८१ बर्ग किलोमिटर भुभागलाई १४ अञ्चल ७७ जिल्ला मा बिभाजन गरिएको छ भने संघिय ब्यबस्था अनुसार ६ महानगर पालिका, ११ उपमहानगर पालिका,२७६ नगर पालिका, ४६० गाउँपालिका गरी जम्मा ७५३ वटा लोकल लेभलमा बिभाजन गरिएको छ र ति ७५३ लाई पनि ६,७४३ वडामा बिभाजन समुन्नत समृद्ध नेपाल र सुखि नेपालीको परिकल्पना गरिएको छ । २०६८को जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये पुरुषको संख्या १,२८,४९,०४१ छ भने महिलाको संख्या १,३६,४५,४६३ रहेको पाईन्छ । कुल जनसंख्याको ६५.९ प्रतिशत मात्र शिक्षित रहेको पाईन्छ । कुल भुभागको ९२.९४ प्रतिशत जमिनले ओगटेको छ भने बांकी ७.०६ प्रतिशत भाग पानीले ओगटेको छ । यस मध्ये पनि खेतियोग्य भुभाग भनेको २८.७४ प्रतिशत मात्र रहेको छ । एसियन बैंक २०१० को डाटा अनुसार २५.२ प्रतिशत जनता गरिबिको रेखामुनि रहेको देखाउछ । ९० प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् । कुल जनसंख्याकोे ९३ प्रतिशत जनता ग्रामिण ईलाकामा बसोबास गर्दछन् । यसरी डाटामा हेर्दा अधिकांश मानिसहरु ग्रामिण भेगमा बस्दछन्, तिनिहरुको मुख्य पेशा कृषि हो तापनि अधिकांशको पेशागत कृषि प्रणालि भन्दा पनि परमपरागत कृषि प्रणलिको कारण यहांको उत्पादनमा मात्र निर्भर रहने अबस्था छैन । फलस्वरुप कृषि प्रधान देशका कृषकहरु परनिर्भर भएर बांच्नु परेको यथार्थलाई कहि कहिल्यै बिर्सन सकिदैन । त्यहां परिकल्पना गरिएका लगभग सबैजसो बास्तबिक चित्रहरु नेपाली माटो र नेपाली जनतासंग पनि मिल्दो जुल्दो रहेकोले यस लघुबित्त कार्यक्रम २०४९ साल पछि मात्र सरकारी तथा गैर सरकारी स्तरबाट सुरु हुन गयो । यसरी ४२ जना महिलाहरुबाट शुरु भएको यो कार्यक्रममा अहिले १०० लाख भन्दा बढी मानिसहरु कुनै न कुनै रुपमा संलग्न छन् जसमा ९८ प्रतिशत ऋणीहरु महिला रहेका छन र जसको असुलिदर ९७ प्रतिशत रहेको छ । यसरी दक्षिण एसियाली मुलुक बंगलादेशमा लघुबित्त कार्यक्रमले उलेख्य प्रगति गरेको अबस्थामा नेपालमा समेत यो कार्यक्रममा आकर्षक हुनुको पछाडी के के कारण छन् त  :
१. चर्काे ब्याजदर बाट उन्मुक्ति :
नेपालमा कुल जनसंख्याको करिब ९३ प्रतिशत भन्दा बढी मानिसहरु ग्रामिण ईलाकामा बसोबास गर्दछन् । ग्रामिण जनताहरुलाई विभिन्न आवश्यकताको परिपुर्तिको लागि, विभिन्न उद्यम संचालन गर्नको लागि ऋणको आवश्यक्ता पर्न थाल्यो जुन प्राप्त गर्न सर्बसुलभ र सरल तरिकाबाट प्राप्त गर्ने अर्को कुनै माध्याम थिएन केबल शाहुमहाजन चर्को ब्याज बाहेक । यसैको फलस्वरुप लघुवित्त कार्यक्रमको माध्यमबाट विना झनभट सहज ढंगबाट कर्जा प्राप्त गर्न सकिने भएकोले शाहु महाजनको चर्को ब्याज दरको ऋणबाट मुक्ति पाउनकै लागी यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।

२. कृषि क्षेत्रको आधुनिकीकरण : कुल जनसंख्याको करिब ९० प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् । तापनि परम्परागत जिबिकोपार्जन कृषि प्रणालिले कृषकहरुलाई यस पेशाले माथि उठ्नै नसक्ने गरी थिचेको अबस्थामा लघुवित्त कार्यक्रमले ग्रामिण कृषकहरुले कृषी क्षेत्र मै लगानी गर्न रुचाउने भएको हुदां यही क्षेत्रमा कर्जा लगानी ग—यो तर परम्परागत कृषीमा लगानी गर्दा तुरुन्त आम्दानी प्राप्त नहुने र आम्दानी नगरी कर्जाको किस्ता बुझाउन नसकिने कारण कृषकलाई तुरुन्त आम्दानीको आवश्यक भएको हुदा कृषकहरु कृषी क्षेत्रलाई आधुनिकीकरण गर्न अथवा छिटो प्रतिफल दिने नगदे बालीमा आकर्षित गर्न आवश्यक पर्ने सिंचाइ सुविधाका कर्जाहरु दिने एक मात्र लघुबित्त कार्यक्रम भएकोले यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।

३. कृषकको आयमा बृद्धि : लघुवित्त कार्यक्रमले ग्रामिण क्षेत्रलाई नैविशेष रुपमा
आफनो कार्यक्षेत्र बनाएको हुदा ग्रामिण कृषकहरुको उद्यमशिल कार्यमा सहभागिता बढन गई कृषकहरुको आयमा बृद्धि हुन जाने हुंदा यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।

४. आत्मनिर्भरता :  ग्रामिण कृषकहरु सिंचाई, कृषी औजार, रासायनिक मलको अभावका कारण वर्षमा एक पटक मात्र खेती लगाउने गर्दछन । लघुवित्त कार्यक्रमबाट सर्वसुलभ तरिकाबाट बिना धितो ऋण प्राप्त गर्न सक्ने भएको हुदा धान बालीका अलावा अन्य नगदे बाली लगाई उत्पादन गर्ने र यस पेसामा आत्म निर्भर रहन यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।

५. संतुलित विकास :  लघुवित्त कार्यक्रमले गांउका गरीब निसहाय जनताहरुमा बिनाधितो कर्जा प्रवाह गरि लघुउद्यम व्यवसाय गर्न प्रोत्सहन गर्ने हुदा गांउका गरीब असाय जनताहरुको आयमा बृद्धि भई ग्रामिण ईलाकाको बिकाश भई यसबाट संतुलित विकासमा सघाउ मिल्ने भएको कारण यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।

६. महिला सहभागितामा जोड:  देशको कुल जनसंख्याको करिब ५१ प्रतिशत जनसंख्या महिलाको छ । यत्रो आधा भन्दा बढी जनसंख्या निस्कृय रहि केबल चुला र चौकामा मात्र सिमित रहेको अबस्थामा लघुवित्त कार्यक्रमले महिलाहरुलाई नै कार्यक्रममा सहभागि संगठित गराई ऋण उपलब्ध गराउने र चुला र चौकाबाट व्यवसायिक स्वरोजगारमा महिलालाई सहभागि गरार्ई उत्पादनशील कार्यमा जोड दिने भएकोले यस कार्यक्रममा आकर्षित भएको पाईन्छ ।
यसबाट के प्रष्ट हुन्छ भने समग्र नेपालको बिकशित हुनको लागी ग्रामिण ईलाकाको बिकश हुन आबश्यक छ भने ग्रामिण ईलाकाको बिकाशको लागी त्यस क्षेत्रमा रहेको मुख्य पेशा कृषिलाई आधुनिकिकरण र बजारीकरणको माध्यामबाट अगाडी बढाउने र ५१ प्रतिशत निस्कृय श्रमलाई सकृय अबस्थामा सहभागि गराएर मात्र सम्भब हुन्छ तब मात्र नेपाल सरकारको समृद्ध नेपाल र सुखि नेपालीको परिकल्पना पुरा हुने ठानी यहि ग्रामिण ईलाकाको पनि लक्षित महिला बर्गमा लघुबित्त संस्थाहरु केन्द्रित भएको अवस्थामा आज २१ औ शताब्धिमा आईपुग्दा यसक्षेत्र प्रति किन यति धेरै बितृष्ण छ त ? सुरुका दिनमा ९७ प्रतिशत असुलीदर रहेको यस क्षेत्रमा आज २१ औ शताब्दिमा आईपुग्दा किन यति धेरै जोखिम कर्जा बढेको छ त ? जोखिम कर्जा बढ्नुको कारण के हो त ? यसको कसरी समाधान गर्ने त ?
यस बारेमा बिश्लेषण गर्न आवश्यक देखि केहि बुंदागत रुपमा निम्नानुसार बिश्लेषण गरिएको छ ।

१. सरकारी नितिको अभाब :  लघुबित्त बित्तिय संस्थाहरु राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत दर्ता भई आएकर ऐन २०५८ बमोजिम नेपाल सरकारलाई ३० प्रतिशत कर्पोरेट कर तिर्ने बित्तिय कारोवार गर्ने संस्था हो । जस्ले नेपाल सरकारको नियम, कानुन र राष्ट्र बैंकको अधिनमा रहेर काम गरेको हुन्छ । जुन संस्थाहरुलाई नियममा रहि लक्षित बर्ग भित्रका ब्यक्ति वा समुहलाई मात्र सिमा तोकि कर्जा लगानी गर्नु हुन भनि कर्जा लगानी गर्न नियम बनाई दिने नियमनकारी निकाय र नेपाल सरकारले जोखिम कर्जा असुलिमा नियम बनाईदिनु पर्छ कि पर्दैन ? नहुनेले त सकेन किस्ता तिरेन ठिकै छ सकेको समयमा तिर्ला तर पैसाको अभाब नभएको तर गलत मनसायको कारण किस्ता नतिरेको वा तिर्ने मनसाय नभएको वा नियत खराब भएको ब्यक्तिसंग कानुन अनुसार कर्जा असुल गर्न पाउनु पर्छ । यस्तो कानुनको निर्माण अबिलम्ब गरियोस सरकार । बाउं आमाको काम बच्चा मात्र जन्माउने नभै बढाउने, हुर्काउने र पढाउने पनि त होनि ।

२. अस्वस्थ प्रतिस्प्रधा :  भौगोलिक हिसाबले निकै सानो देश नेपालमा सुरुवाति समयमा सिमित लघुबित्त बित्तिय संस्थाहरु ( निर्धन उत्थान, रुरल माईक्रोफाईनान्स, डिप्रोक्स लघुबित्त, छिमेक लघुबित्त, स्वाबलम्ब लघुबित्त, ५ बिकाश क्षेत्रमा स्थापना भएको ग्रामिण बिकाश लघुबित्त, सानाकिसान लघुबित्त, स्वरोजगार लघुबित्त, नेरुडे लघुबित्त, नयां नेपाल लघुबित्त, मिथिला लघुबित्त, फस्र्ट माईक्रोफाईनान्स र नागबेलि लघुबित्त ) मात्र रहेको अबस्थामा पनि प्रतिस्प्रधा भएको पाउछौ तर त्यस समयमा प्रतिस्प्रधा सदस्यमा नभई बस्तु तथा सेवामा र त्यसको गुणस्तरमा हुने गर्दथियो । जसको कारण लघुबित्त जनताको आकर्षणको केन्द्र बिन्दु रहन गयो । यति सम्मकी यस क्षेत्र प्रति जनताको मात्र आकर्षण भएनकि लगानी कर्ताको समेत अांखा लग्न पुग्यो र २१ औ शताब्दीमा आई पुग्दा धन्नै धन्नै १०० को हाराहरीमा यस्तो प्रकृतिक संस्थाको जन्म हुन आयो । धेरै संख्यामा लघुबित्त जन्मने बित्तिकै हरेक किसिमका बिकृति र बिसंगति को समेत संगै जन्म हुन आयो ।(जस्तो : जुन ठांउमा कुनै एउटा संस्थाको कर्जा नतिरी भाखा नाघेका ब्यक्तिहरुको बसोबास रहन्छ सोहि स्थानमा अर्को समुह गठन गरिनु वा सदस्यको निर्माण गरिनु, एउटा संस्थाको कर्जा नतिरि डिफल्ड सदस्यलाई अर्को संस्थाले कर्जा लगानी गरिनु, सदस्यलाई समुहमा आबद्ध गर्दा लघुबित्तको नियमानुसार पुर्ण तालिममा सहभागि नगराई समुहमा आबद्ध गरिनु, सदस्यको पुर्ण कागजात नलिनु, अस्थाई रुपमा बसोबास गरेका ब्यक्तिलाई समुहमा आबद्ध गरिनु, सदस्यको मासिक आम्दानि तथा खर्च बिश्लेषण र ब्यबसायको निरिक्षण नगरि कर्जा दिनु, सदस्यको क्षमता भन्दा बढी कर्जा लगानि गरिनु, कर्जा लगानि पश्चात सदुपयोगिताको निरिक्षण र प्रतिफको मापन नगरिनु । आदि जस्ता कारणले संस्थाहरुको प्रतिस्प्रधा हरेक क्षेत्रमा एकदमै अस्वस्थ छ । जसको कारण संस्थाद्धारा लगानि भएका कर्जाहरु धमाधम जोखिममा गई जोखिम कर्जा बढेको पाईन्छ
त्यसकारण संस्थाहरुले एउटा सस्थाले कर्जा लगानी गरेको सदस्यलाई अर्को संस्थाले कर्जा लगानि नगर्ने, सदस्य बांडेर कर्जा लगानि गर्ने, स्थान बांडेर सदस्यलाई समुहमा आबद्ध गर्ने, आबद्ध गर्दा अनिबार्य रुपमा लघुबित्तको नियमानुसार मात्र आबद्ध गराउने,एउटा मात्र संस्थाले कर्जा लगानि गर्दा सदस्यको आबश्यकतालाई ध्यान दिने ताकि ब्यबसायमा लगानि गरिने पूंजीको अभाबमा पूनः अर्को संस्थामा आबद्ध भई कर्जा लिन नपरोस । कर्जा दिदा अनिबार्य स्थलगत निरिक्षण गर्ने र लगानि पश्चात कर्जाको प्रयोग सहि ठाउंमा भयो या भएन निरिक्षण गर्ने र कम्तिमा ६ महिनामा सदस्यको प्रगतिको मापन गर्ने गरेमा कर्जाको जोखिम हुने सम्भाबना न्यून हुन्छ अन्यथा हम त जानाहे सनम तुम भि लेकर गया ।

३. चेतनाको अभाब :  लघुवित्त संस्थाहरुले ग्रमिण समुदायमा अवस्थित निरक्षर तथा अल्प साक्षर समुदायलाई बित्तिय साक्षरतामा बढी जोड दिई पुर्ण रुपमा वित्तीय साक्षर बनाउनु पर्नेमा यस तर्फ कुनैको ध्यान गएको पाईदैन केवल कर्जा दिने र लिने भन्दा बाहेक । धेरै संस्थामा आबद्ध हुंँदाको फाईदा र बेफाईदा, धेरै संस्थाबाट कर्जा लिंद हुने फाईदा र बेफाईदा, कर्जा लिएर छिटो उत्पादन हुने क्षेत्रमा लगानि नगरि ढिलो उत्पादन हुने क्षेत्रमा लगानि गर्दा हुंने बेफाईदा, लिएको कर्जाको सहि ठांउमा प्रयोग नगर्दा हुने बेफाईदा,आफ्नो क्षेमता भन्दा बढि कर्जा लिंदा हुने बेफाईदा, एक जना ब्यक्तिले धेरै ब्यक्तिको कर्जा प्रयोग गर्दा हुने बेफाई र अनाबश्यक ठाउंमा खर्च गर्दा हुने बेफाईदा को बारे लघुबित्त बित्तिय संस्थाहरुले समाज वा समुदायलाई सुसुचित बनाउन नसक्नुनै प्रममुख कारण हो । त्यसैले सदस्य सुरक्षा कोषको निश्चित प्रतिशत रकम समाजमा बित्तिय साक्षरताको क्षेत्रमा खर्च गरेर समुदायलाई पुर्ण ज्ञान दिन सकेको खण्डमा संस्थाहरुले लगानि गरेका कर्जा जोखिममा जाने सम्भावना कम हुन्छ ।

४. स्थानिय स्तरमा समन्वयको अभाब :  नेपालको संबिधान २०७२ ले मुलुकलाई संघिय रुपमा परिभासित गरि ७ प्रदेशमा बिभाजन गरिएको छ । यसरि मुलुक संघिय रुपमा गएता पनि संघियता कार्यान्वयनको हिसाबले अनुभबको अभाबमा संघिय रुपमा भनौ या प्रदेशगत रुपमा या स्थानिय स्तरमा समरुपी भएको पाईदैन । यस कारणले पनि बैंक तथा बित्तिय संस्थालाई काम कार्बाहिमा केहि असहज भने पक्कै भएको छ । हरेक स्थानिय स्तरमा कार्यरत लघुबित्त संस्थाहरु र तिनका प्रतिनिधिहरु बिचमा समन्वय र सामन्जस्यता हुनु अनिबार्य रहन्छ । समन्वयको अभाबमा कहिले कुनै गाउंपालिकामा संस्थालाई पस्न नदिने त कहिले कुनै वार्डमा पस्न नदिने जस्ता समाचार संचार माध्याममा आईरहेको पाईन्छ भने अधिकांश जन प्रतिनिधिले सहयोग नगरेको समाचारहरुत सधैंजसो सुन्न पाईन्छ । त्यसैले स्थानिय प्रतिनिधि संग मासिक रुपमानै समन्वय गर्दै स्थानिय स्तरमा कार्यक्रम गर्न सकेको अबस्थामा स्थानिय जन प्रतिनिधिको सहयोग अबश्य रहन्छ र स्थानिय स्तरमा परेका समस्याहरुको समाधान प्रतिनिधिकै रोहबरमा सजिलै समाधान हन्छ र कर्जा जोखिमको सम्भावना कम हुन्छ ।

५. भ्यालु चेनको कर्यान्वयन नहुनु :  नेपाल गाँउ नै गाउँले भरिएको कृषी प्रधान देश हो । जहाँ करीब ५१ प्रतिशत जनसंख्या महिलाहरुको रहेको छ । प्राय महिलाहरु नै यो देशको विपन्न वर्ग हुन यी विपन्न वर्गहरुको उत्थानको लागि विभिन्न लघुवित्त बैंकहरु कार्यरत छन । कृषि क्षेत्रले आर्थिक दृष्टिकोणबाट सक्रिय जनशाक्तिको ९१ प्रतिशत भन्दा बढि जनशक्तिलाई रोजगार उपलब्ध गराउनुका साथै कुल राष्टिय उत्पादनमा करीब ६० प्रतिशत योगदान गरेको छ । सबै जसो लघुबित्तले यसै क्षेत्रमानै आफ्नो कर्जा लगानी बढाएका छन् तापनि यस क्षेत्रको उलेख्य सुधार हुन सकेको छैन । यस कारण अधिकांश शिक्षित युबा युबतिहरु बिदेशिन बाध्य भएका छन् । लघुबित्त संस्थाहरुले सदस्यहरुलाई कर्जाको अलबा समाजमा भ्यालु चेनको अबधारणालाई(जस्तोः ५ जना सदस्यको समुह निर्माण गर्ने,सम्बन्धित बिषयमा तालिम दिने र १ जनालाई घांस उत्पादन गर्न कर्जा लगानी गर्ने जसले पोषणयुक्त घांस लगाउछ, अर्को ब्यक्तिलाई गाई भैसि र बाख्रा पालनमा कर्जा दिने जसले घांसको खरिद गरी दुग्ध उत्पादन गर्छ, अर्को ब्यक्तिलाई डेरि संचालन गर्न कर्जा लगानी गर्ने र डेरि संचालन गराउने,अर्को ब्यक्तिलाई होटल संचालन गर्न कर्जा लगानी गरिदिने जसले डेरीबाट उत्पदित वा प्रशोधित बस्तुको बिक्रि गर्दछ र अर्को ब्यक्तिलाई पशु बधशालाको लागि कर्जा दिने जसले पशुपालन गर्ने ब्यक्तिबाट खसि, बोका र रांगा खरिद गरी उपभोक्तलाई मासु बेच्ने काम गर्छ । कार्यान्वयमा ल्याईदिने हो भने कसैको उत्पादन हुने तर बिक्रि नहुने जस्ता समस्याको निराकरण हुने हुंदा यस क्षेत्रले बिकाशमा ठुलो फड्को मारि यस क्षेत्रमा आश्रित समुदायलाई प्रचुर मात्रामा आम्दानीको सम्भाबना हुन्छ र कर्जा जोमिखमा जानबाट बच्छ ।
६. बजार तथा भण्डारणको ब्यबस्थापन ः कृषिबाट उत्पादित बस्तुहरु बजार नपाएको अबस्थामा तथा मौसम अनुसार उत्पादित बस्तुहरुको सोहि मौसममा बिक्रि गर्दा बस्तुले मुल्य नपाउने र लामो समय टिकाउन कृषक नसक्ने हुंदा एकातिर अधिकांश बस्तु सडेर जान्छ भने अर्कोतिर कृषकको लगानीको प्रतिफल आउनुको साट्टा लगानीनै डुब्न जाने खतरा हुन्छ र लघुबित्तबाट लगानि भएका कर्जा निश्चयनै जोखिममा जान्छ । जस्तोःकृषकले बन्दामाथि ट्याक्टर लगाउनु ज्वलन्त उदाहरण हो । कृषकलाई यि समस्याबाट मुक्त गराउन कृषकबाट उत्पादित बस्तु खरिद गरिदिने र भण्डारण गरि बजारको राम्रो ब्यबस्थापन लघुबित्त संस्थाहरुबाट गरिदिने हो भने कृषकको लगानिमा राम्रो प्रतिफल प्राप्त हुन्छ र कृषकहरुले संस्थाको कर्जा राम्रोसंग परिचालन गरि कर्जा जोखिममा नजाने सम्भाबना हुन्छ ।

७. कर्मचारी : लघुबित्त संस्थाबाट लगानि भएका कर्जा जोखिममा जाने कारण मध्ये एक कर्मचारी पनि हो । कर्मचारी लामो समय संस्थामा टिक्न नसक्नु, अनुभबि कर्मचारी बाहिरिनु र अनुभब बिहिन कर्मचारी भित्रनु, एउटा संस्थाको तल्लो लेभलको कर्मचारीलाई अर्को संस्थाले माथिल्लो लेभलको जिम्मेवारी सुम्पनु, सदस्यको पहिचान नगर्नु, छिट्टै बिश्वास गरि क्षमता भन्दा बढि कर्जा लगनि गरिनु(जस्तोः कर्मचारीले आफ्नो पैसा कुनै ब्यक्तिलाई केहि समयको लागि सापट दिन परेमा कति पटक सोचेर बिश्लेषण गर्दछ तर उहि कर्मचारी जसले संस्थाको पैसा अर्को ब्यक्तिलाई दिंदा नत उसले केहि सोच्छ नत बिश्लेषण गर्दछ ) सदस्य प्रति गरिने ब्यबहार समान नभई बिभेद गरिनु, नैतिक तथा आर्थिक रुपमा स्वच्छ र पारदर्शि नहुनु, बोलि ब्यबहार छुचो र रुखो हुनु आदि जस्ता कारणहरुले पनि कर्जा जोखिममा जाने सम्भाबना बढाउछ । यसमा हामी कर्मचारी बर्गले सुरुको अबस्था देखि निरन्तर ध्यान दिने हो भने अबश्यनै आफुद्धारा लगानि भएका कर्जा जोखिममा जाने सम्भाबना कम हुन्छ ।

८. ब्यबस्थापन : लघुबित्तका कर्जा जोखिममा जाने कारण ब्यबस्थापन पक्ष पनि कहि न कहि सम्लग्न भएको पाईन्छ । जस्तो ः कर्मचारीलाई बार्र्षिक लक्ष्य दिंदा होस या कर्मचारी छनौटमा होस या बढुवामा, कर्मचारी सरुवामा होस या जिम्ेवारीमा दिने क्रममा, कर्मचारी पारिश्रमिकमा होस वा सेवा सुबिदामा । नेपालको हरेक क्षेत्रमा यि याबत समस्याहरु छन जुन रोगबाट लघुबित्त पनि अछुतो छैन ।(कर्मचारीलाई बार्षिक लक्ष्य दिंदा बढि महत्वकांक्षि नदिने, कर्मचारी छनौटमा योग्यता र दक्षतको मुल्यांकन नगरि हाम्रालाई प्राथकिता दिईनु, हाम्रालाई सुगम र सजिलो स्थानमा सरुवा गरिनु, कर्मचारीको कार्य क्षमताको मुल्यांकनको आधारमा जिम्मेवारी नदिनु,राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिनु, सहि ब्यक्तिलाई सहि स्थानमा पदस्थापना नगर्नु, काममा ध्यान नदिने तर कुरा लगाउने र ब्यबस्थापनको नजिक हुने ब्यक्तिलाई मात्र प्रमुख जिम्मेवारी दिने,दौडेर सुमेरु पर्बत घुम्नुको सट्टा ब्यबस्थापनलाई पुज्ने परम्परालाई मात्र ब्यबस्थापनले प्राथमिकता दिनु, कर्मचारीको पारिश्रमको उचित मुल्यांकन गरि उचित र सामय सापेक्ष पारिश्रमिको ब्यबस्था नहुनु र कर्मचारीको सेवा सुबिदामा कञ्जुस्याई गर्नु, आदि कारणले गर्दा कर्मचारीको उत्पादनशिल कार्यमा ह्रास आउन जन्छ । फलस्वरुप लगानी भएका कर्जा समेत जोखिममा जाने सम्भाबना बढ्छ । त्यसकारण ब्यबस्थापनको आंखा जहिले पनि स्वायम्भुको जस्तो बनाउन सकेमा मात्र कर्मचारी बर्गमा थप हौसला बढ्न जान्छ र प्रतिफल समेत राम्रो दिन्छ ।

९. लगानि कर्ता :  लगानि कर्ताले आफुले लगानि गरेको ब्यबसायबाट राम्रो प्रतिफलको आशा राख्नु नराम्रो हुंदै होईन तर लगानि गरेको पूंजीको भन्दा एकै पटक बढि आशा राख्नु चै पक्कै पनि राम्रो होईन । आजको अबस्थामा लघुबित्तका लगानि कर्ताहरुको उच्च प्रतिफ प्राप्त गर्ने प्रतिस्प्रधाले पनि जोखिम कर्जा बढाउन कहि न कतै भुमिका खेलेको छ ।(जस्तो लगानि कर्तालाई उच्च प्रतिफल दिन संस्थाले नाफा बढि गर्नु पर्ने हुन्छ । नाफा बढि गर्न सदस्य बढि निर्माण गर्नु र तिनलाई बढि भन्दा बढि कर्जा लगानि गरि ब्याज आम्दानि गरी नाफा गर्नु पर्ने हुन्छ । संस्थाले जति बढि नाफा आर्जन गर्न सक्यो त्यतिनै बढि लगानि कर्तालाई प्रतिफल दिन सक्ने भएकोले जस्ता ब्यक्तिलाई पनि समुहमा आबद्ध गर्ने र कर्जा लगानि गरि ब्याज आर्जन गर्ने परम्परानै बस्न गयो ।)यसरी लगानी कर्ताहरुले प्राप्त गर्ने प्रतिफलमा प्रतिस्प्रधाको भावना हटाई गुणस्तर र स्थायित्वमा ध्यान दिएको अबस्थामा मात्र लघुबित्त क्षेत्रको कर्जा जोखिममा सुधार हुने सम्भाबना बढि रहन्छ । नत्र भईको टिप्न खोज्दा पोल्टाको समेत खस्ने निश्चित नै छ ।

१०. कर्जा लगानि पश्चात मापन को अभाब :  कुनै एक ब्यक्ति लघुबित्त संस्थामा आबद्ध भई बाख्रा पालन उदेश्यमा कर्जा लिन्छ । एउटा मात्र संस्थाबाट नभै धेरै संस्थाबाट सोहि बाख्रा पालन उदेश्यमा कर्जा लिईरहन्छ । उसले बाख्रा पालन उदेश्यमा सबै संस्थाको कर्जा जोड्दा बिधिबत रुपमा फर्म दर्ता गरेर जग्गा धितो राखेर नियमानुसार जग्गाको मुल्यांकन गराई आय स्रोतको बिश्लेषण गरि क बर्गका बैंक हरुले गरेको लगानि भन्दा बढि बाख्रा पालनमा उदेश्यमा बिना धितो कर्जा लिएको हुन्छ तर स्थलगत निरिक्षण गर्दा घरमा मात्र २ वटा बाख्रा रहेको पाईन्छ । अनि यस किसिमबाट लगानि भएका सबै जसो कर्जा जोखिममा जाने निश्चितपा्रयनै छ । कुनै पनि लघुबित्त संस्थाहरुले कुनै पनि सदस्यको समुहमा आबद्ध हुनु भन्दा अगाडि र आबद्ध भएर कर्जा लिएको निश्चित समय पश्चात उक्त सदस्यको प्रगतिको वा कर्जा सदुपयोगिताको मापन गर्ने गरेको पाईदैन । यसरी सदस्यको प्रगति मापन गर्ने र यसैको आधारमा कर्जाको सिमा बढाउने गरेमा मात्र कर्जा जोखिममा जाने सम्भाबना कम हुन्छ । धेरै कारणहरु मध्येको केहि माथिका प्रमुख कारणहरुको अध्ययन र कार्यान्वयन पक्षको फितलो प्रदर्शन ले गर्दा शुरुवाति अबस्थामा अति राम्रो असुलिदर रहेको यस लघुबित्त कार्यक्रम आज २१ औं शताब्दीमा आईपुग्दा जोखिम र भाखा नाघेको कर्जाको अबश्था आकाशिदो रहेको पाईन्छ । अन्तमा यदि सरकार बास्तबमै समृद्ध नेपाल र सुखि नेपालिको परिकल्पनालाई साकार पार्ने हो भने बिना धितो कर्जा लगानिमा प्रोत्साहित गर्ने र नियतबश कर्जा नतिर्ने ब्यक्तिहरुलाई नियमानुसार कर्जा असुल गर्न मिल्ने कानुनको ब्यबस्था भएमा मात्र साकार हुन्छ नत्र नारामा मात्र सिमति हुने निश्चित नै छ ।

 (पोखरेल लघुवित्त वित्तीय संस्थामा अनुगमन अधिकृतको रुपमा कार्यरत छन् ।)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]