बैंकिङ खबर । साताको अन्तिममा नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको वर्गाीकरणले तनावपूर्ण अवस्था सिर्जना गरेको छ । धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद र राष्ट्र बैंकमा खाली हुन लागेको गभर्नर पदका लागि दौडधूप चलिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसबाहेक पनि बैंकिङ क्षेत्रमा यो साता थुप्रै महत्पवूर्ण गतिविधि भएका छन्ः
नेप्सेको बर्गिकरण
नेपाल स्टक एक्चेन्ज नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको बर्गिकरण सार्बजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा अन्तरराष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने भएअनुसार अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो । नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने ’ए’ मा सनराइज बैंक मात्र परेको छ भने ’बि’ मा ङादी हाइड्रो मात्र परेको छ । नेप्सेमा सुचिकृत झन्डै दुई सय संस्थाहरु ’जेड’ वर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन् । अधिकांश कम्पनी खराब वर्गमा परेपछि नेप्सेको वर्गीकरणमाथि नै प्रश्न उठेको छ ।
राष्ट्र बैंकको आर्थिक तथा वित्तीय समीक्षा
राष्ट्र बैंकले भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, मूल्यवृद्धिदर बढेको छ भने आयात घटेको छ । निर्यातमा वृद्धि देखिएको छ । बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीचको असन्तुलन कायम रहेको छ । रेमिट्यान्स घटेको छ भने शोधानान्तर बचतमा रहेको छ ।
बैंकर अजय श्रेष्ठ मुद्धा
बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले यस मुद्दाको पहिलो सुनुवाई गर्दै उच्च अदालत पाटनमा रहेको मुद्दा सम्बन्धि सम्पूर्ण विवरण मगाउने आदेश दिएको हो । उच्च अदालत पाटनले श्रेष्ठलाई पुर्पक्षका थुनामा पठाएको छ । उच्च अदालत पाटनले दिएको आदेश चित्त नबुझेपछि उनी सर्वोच्च पुगेका थिए । अब उच्च अदालतको कैफियत प्रतिबेदन आएपछि यस मुद्दामा पुनः सुनुवाई हुने छ ।
घरमै नक्कली नोटको कारखाना
काठमाडौँको गोकर्णेश्वरमा नक्कली नोट छााप्ने कारखाना फेला परेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्तीबाट नक्कली नोट छाप्ने उपकरणसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका ७ घर भई गोकर्णेश्वर ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली छन् । उनीहरूको साथबाट एक हजारको ३४ थान नक्कली नोट बरामद भएका छन् । साथमा पैसा बनाउने ठूलो कागज १४२ थान, सानो १४९ थान पनि बरामद भएको छ । यसबाहेक, रंगीन मेसिन, सिपियु, मनिटर, हिटर, क्यामरा, कैंची, गम लगायतका सामान पनि बरामद भएको छ । उनीहरुले आफू बस्ने घरमा नै मेसिन राखेर नोट छाप्ने गरेको खुलेको छ ।
बैंकका सीईओको तलबभत्ता सार्वजनिक
आधा दर्जन बैंकहरुले सीईओको तलब सार्वजनिक गरेका छन् । जसमध्ये, बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै र सिटिजन्स बैंकले सबैभन्दा थोरै तलब दिने गरेको छ । बैंक अफ काठमाण्डूले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक दिन्छ भने सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपैयाँ दिन्छ । यसबाहेक, कुमारी बैंकले दुई करोड १४ लाख ६३ हजार रुपैयाँ, एनआइसी एसियाले दुई करोड १३ लाख ६७ हजार रुपैयाँ, सानिमा बैंकले दुई करोड आठ लाख ३९ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकले एक करोड १७ लाख ९८ लाख रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।
डुइङ बिजनेश रिपोर्टमा छलाङ
विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ । नेपाल १० सुचाकंमा ५ वटामा सुधार गरेको छ भने ३ वटामा स्थान तल झरेको छ र २ वटा सूचकमा स्थिर रहेको छ ।




