बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरुको संख्या २६ मा सीमित भएको छ । हालै ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा एवम् भार्गव र पूर्णिमा शाइन रेसुंगामा गाभिएपछि विकास बैंकको संख्या २६ कायम भएको हो ।
राष्ट्र बैंकले २०६८ सालमा मर्जर तथा एक्विजिसन नीति ल्याएको थियो । जसको प्रभावस्वरुप आठ वर्षमा ६० वटा विकास बैंक विलय भएका छन् । विकास बैंकहरु प्रायः वाणिज्य बैंकमा विलय भएका छन् भने केही विकास बैंकहरु एकआपसमा मिलेर ठूलो विकास बैंक बनेका छन् । २०६८ सालको मर्जर नीतिपछि नै घट्न थालेको विकास बैंकको संख्या पुँजीवृद्धिको नीतिका कारण झन् घट्न पुग्यो । अहिले बैंकहरु पनि संघीय संरचनामा जानुपर्ने नीतिले साना बैंकहरुलाई मर्जरमा जान बाध्य पारेको छ । त्यसमाथि पनि राष्ट्र बैंकले मौद्रक नीतिमार्फत बीग मर्जरलाई प्रोत्साहन गरेपछि मर्जरले अझै तीव्रता पाउने देखिएको छ ।
अहिले राष्ट्रिय स्तरका १० वटा बैंक मात्रै संचालनमा छन् । मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक र गण्डकी विकास बैंक हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक हुन् । यसमध्ये, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिँदैछ भने गण्डकी विकास बैंक मेगा बैंकमा गाभिँदैछ ।
बाँकी बैंकहरु नारायणी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, कर्णाली विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सहारा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक रहेका छन् । यीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाभ्दैछ । सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले गाभ्दैछ ।
यसरी अझै पनि थुप्रै विकास बैंकहरु मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल रहेका छन् । यसबाट विकास बैंकको संख्या २२ मा झर्नेछ । त्यसबाट पनि एक जिल्ले वा तीन जिल्ले विकास बैंकहरु प्रदेश स्तरमा स्तरोन्नति हुन मर्जरमा जानुपर्ने अवस्था छ भने मर्जरबाट आफू स्तरोन्नति हुन नसकेको अवस्थामा ठूला बैंकसँग विलय हुनुपर्ने अवस्था छ । यसरी हेर्दा, विकास बैंकको संख्या छिटै नै १५।१६मा झर्ने देखिन्छ ।



