June 24th, 2016

साताभर नेप्सेमा पौने ८ अर्बको शेयर कारोबार, ३३.३५ अंकले बढ्यो परिसूचक

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ वटा कम्पनीको १ अर्ब ९८ करोड ९९ लाख २४ हजार ९ सय २१ रुपैयाँ बराबरको ३२ लाख २१ हजार २६ कित्ता शेयर ७ हजार ८ सय १० पटक खरिदविक्रि भयो । नेशनल लाइफ इन्स्योरेन्स र सानिमा माइ हाइड्रोपावरको क्रमशः १४ करोड र ११ करोडमाथिको शेयर कारोबार भयो । राष्ट्रिय बिमा कम्पनि र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाए । विहिबार नेप्से परिसूचक पनि १८.७८ अंकले बढेर १६६६.२९ अंकमा पुग्यो ।

यस साता विहिबार सबैभन्दा धेरै कारोबार भएको हो । साताको अन्तिम दिन शेयर बजार उत्साहजनक रहेपछि साताको सुरुवात भने निराशाजनक रहेको थियो । साताको आइतबार १ अर्ब ६५ करोडको शेयर कारोबार भएको थियो भने नेप्से परिसूचक १०.६७ अंकले घटेको थियो । कारोबार रकमका हिसाबले सोमबार र मंगलबार शेयर बजार झन् निराशाजनक रह्यो । सोमबार १ अर्ब १९ करोडको कारोबार भएको बजारमा मंगलबार १ अर्ब २१ करोडको कारोबार भयो । परिसूचक सोमबार ७.१७ अंकले घट्यो भने मंगलबार १३.७१ अंकले बढ्यो । बुधबार र विहिबार क्रमशः १८.७० र १८..७८ अंकले बढेर हाल नेप्से ऐतिहासिक विन्दुमा आइपुगेको छ । साताको पछिल्लो २ दिनमा कारोबार रकम पनि बढ्दै गएको छ । 

वाफियाको प्रभावमा शेयर बजार
यस आधारमा साताभर नेप्सेमा ७ अर्ब ८३ करोड ६६ लाख ३ हजार ४ सय ६५ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । त्यस्तै, गत साताको अन्तिम दिन नेप्से परिसूचक १६३२.९४ अंकमा बन्द भएको आधारबाट यस सता परिसूचक ३३.३५ अंकले बढेको छ । यस साता अर्थसमितिले व्यवस्थापिका संसदमा पठाएको वाफियामाथिको छलफलका कारण शेयर बजार प्रभावित भएको विश्लेषकहरु बताउँछन् । बैंकरसमेत रहेका केही सांसदहरु वाफिया विधेयकलाई आफूअनुकूल संशोधन गरेपछि सो विधेयक पारित हुन्छ या हुँदैन भन्ने अन्यौलताको बिचमा रहँदासम्म शेयर बजार घटेको देखिन्छ । बुधबार संसदले वाफियालाई अर्थ समितिमा नै फिर्ता पठाइदिएपछि भने बजारले पुनः उकालो गति लिएको छ । सो संशोधिक विधेयक जस्ताको तस्तै पारित भएमा बैंक तथा वित्तीय क्षेत्र धराशायी बन्न सक्ने भन्दै विज्ञहरुले आफ्नो धारणा राखेपछि शेयरमा लगानी गर्नेहरु पनि निरुत्साहित बनेका थिए । 

त्यस्तै, यो साता बिमा कम्पनिहरुको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखियो । शिखर इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको उत्साहजनक कारोबार भयो । राष्ट्रिय बिमा कम्पनि, एनएमबी माइक्रोफाइनान्स, सानिमा माइ हाइड्रोलगायतका लगानीकर्ताले धेरै कमाएका गुमाउनेमा राप्तीभेरी विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, काबेली विकास बैंक लगायत छन् ।