October 21st, 2019

बैंकिङ लगानी घट्यो : घरजग्गा कारोबारमा मन्दी

बैंकिङ खबर । बैंकहरुले लगानी गर्न छोडेपछि घरजग्गा कारोबारमा मन्दी लागेको छ । अनुत्पादक क्षेत्रमा बैंकको लगानी घटाएर उत्पादनशील क्षेत्रतर्फ बढाउन राष्ट्र बैंकले थुप्रै कदम चालेको छ । कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा प्रतिशत नै तोकेर अनिवार्य लगानी गर्ने निर्देशन बैंकहरुलाई दिइएको छ । त्यस्तै, विपन्न वर्ग कर्जा भनेर पनि छुट्याइएको छ । यस नीतिका कारण घरजग्गा कारोबार प्राथमिकताको सूचिमा पछाडी परेको छ ।

बैंक तथा बित्तीय संस्थाले आफ्नो कूल कर्जाको कृषि क्षेत्रमा कम्तिमा १० प्रतिशत, उर्जा र पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी गर्नु पर्ने नीति राष्ट्र बैंकको छ । यो सीमा तय गर्नका लागि २०७८ असार मसान्तसम्मको समय दिइएको छ । हालसम्म बैंकहरुको यी क्षेत्रहरुमा लगानी १६।१७ प्रतिशतको हाराहारीमै छ । समयसीमासभत्र यो टार्गेट पुरा गर्नुपर्ने जिम्मेवारी बैंकहरुमा छ ।

त्यस्तै, वाणिज्य बैंकहरुले कुल कर्जाको पाँच प्रतिशत र विकास बैंकहरुले ४.५ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने नियामकको निर्देशन छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यो टार्गेट भने पुरा भइसकेको छ । बैंकहरुले विपन्न वर्गमा ६ प्रतिशतभन्दा बढी लगानी गरेका छन् ।

चाहेअनुसार बैंकले ऋण नदिएपछि घरजग्गा व्यवसायी नै समस्यामा परेका छन् । उनीहरुलाई लिएको कर्जाको व्याज तिर्न पनि धौधौ परिहेको अवस्था छ । त्यसमाथि राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ । यसले सदाबहार भनिने घरजग्गा व्यवसायमा झन् समस्या थपेको छ ।

नेपालमा सम्पत्ति कमाएपछि पहिलो काम सहरमा घर बनाउने हुन्छ । अथवा एउटा भएपनि जग्गा जोडेर राख्ने योजना हुन्छ । प्रायः विदेश गएर ल्याएको कमाई घरजग्गामा लगानी गरिन्छ । तर, केही वर्षदेखि बैंकहरुको व्याजदर पनि प्रतिष्पर्धात्मक तवरले बढिरहेको छ । लगानी योग्य पुँजीको अभाव भएका कारण माग हुनेवित्तीकै कर्जा दिन सक्ने अवस्था पनि बैंकमा छैन । यसले कर्जा घरजग्गाको भाउ नै घट्न थालेको छ । टुक्रे जग्गाको भाउ बढेपनि प्लटिङ गरेका जग्गाहरुले मूल्य पाइरहेका छैनन् । कित्ताकाट गरेर जग्गा बेच्न पनि नपाइने र ठूलो जग्गा बेच्न खरिदकर्ता नै नपाउने अवस्था सिर्जना भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]