चीनको लगानी : कुनकुन क्षेत्रमा ? नेपालमा कति छ ?

बैंकिङ खबर । नेपालमा छिमेकी मुलुक चीनको लगानी लगातार बढ्दो क्रममा रहेको छ । विदेशी लगानी अन्तर्गत उद्योग विभागमा दर्ता भएका कुल ७० उद्योगमध्ये ६३ ओटा उद्योग चीनका छन्, जसमा नौ अर्ब ४९ करोड रुपैयाँको लगानी प्रतिवद्धता छ । असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरूले कुल एक खर्ब चार अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता गरेका छन् ।

नेपालमा चीनको लगानी आर्थिक वर्ष २०६२।६३ देखि नै बढिरहेको छ । पछिल्लो केही वर्षयता त यस्तो वृद्धिदर झन् उच्च भएको छ । आर्थिक वर्ष २०७१।७२ देखि २०७५।७६ सम्ममा रू. ७७ अर्ब २१ करोडको वैदेशिक लगानी चीनबाट आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १० अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा चीनको रहेको छ ।

कुन क्षेत्रमा बढी ?
राजनीतिक स्थीरताका साथै लगानी क्षेत्रमा भएका विभिन्न नीतिगत सुधार, लोडसेडिङको अन्त्य लगायतका कारण चिनीयाँ लगानीकर्ताहरु अब साना तथा मझौला उद्योगबाट ठूलो उद्योग र पूर्वाधार आयोजनामा सर्न थालेका छन् । चिनीयाँ लगानीकर्ताको आकर्षण उर्जा क्षेत्रमा सबैभन्दा बढी छ, जहाँ उनीहरुको लगानी प्रतिवद्धता ४१ अर्ब ५४ करोड छ । यसबाहेक, पर्यटनमा २० अर्ब ५७ करोड, सेवा क्षेत्रमा १८ अर्ब, उत्पादनमूलक क्षेत्रमा १२ अर्ब ४८ करोड, खनिज क्षेत्रमा चार अर्ब ९९ करोड र कृषिमा चार अर्ब ३४ करोडको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

नेपालमा मात्रै नभएर चीनले विश्वव्यापी रुपमा नै आफ्नो लगानी बढाएको छ । जुन २०१९ को तथ्यांकअनुसार, विदेशमा चीनको लगानी २५.७ विलियन अमेरिकी डलरले बढेको छ । १९९८ देखि हालसम्मको वृद्धि हिसाब गर्दा, औसतमा चीनको विदेशमा लगानी प्रतिवर्ष ८.८ विलियन अमेरिकी डलरका दरले बढिरहेको छ ।