Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

दशैँको दक्षिणाबाट सुरु गर्नुहोस् ‘बैंक खाता’

२०७६ आश्विन २३ गते

बैंकिङ खबर । यसपालीको दशैँमा कति पाउनुभयो दक्षिणा ? हुन त टीका लगाएर पाएको दक्षिणा मनोरञ्जनमै खर्च गरौँ भन्ने इच्छा हुन्छ । सोही दक्षिणालाई बैंकमा खाता खोलेर जम्मा गर्नुभयो भने एकातिर बचत गर्ने बानी बस्छ भने अर्कोतिर बैंकले व्याज पनि दिइरहेको हुन्छ ।

सरकारले हरेक नेपालीको बैंक खाता अभियान संचालन गरिरहेको छ । सिंगो नेपाललाई नै डिजिटल कारोबारको युगमा लैजाने लक्ष्य लिइएको छ । नोट छपाईमा लाग्ने खर्च कम हुने, बचत गर्ने बानी बस्नाले जनताको समृद्धि हुने र बैंकमा जम्मा भएको निक्षेपबाट बैंकले लगानी समेत गर्न पाउने भएकाले सबै नेपालीले बैंक खाता खोलेर कारोबार गर्न सिक्नु आवश्यक छ ।

बैंकमा खाता खालेपछि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट जस्ता सेवा लिएर बील भुक्तानी, मोबाइल टीभी रिचार्ज, पैसा ट्रान्सफर जस्ता सेवा मोबाइलबाट घरमै बसेर लिन सकिन्छ । न त लाइन बस्ने झन्झट हुन्छ, न त खल्तीमा भएको नगद चोरी हुने डर । होटलहरुमा बस्न जाँदा वा सपिङ जाँदा बैंकको कार्डबाटै भुक्तानी गर्न सकिन्छ । अनलाइनबाटै पेमेन्ट गरेर आफूले रोजेको सामान खरिद गर्न पनि सकिन्छ ।

यसरी डिजिटल बैंकिङको अनुभव लिनका लागि बैंकमा गएर खाता खोले पुग्छ । यसको लागि दशैँको दक्षिणाबाटै सुरु गर्न सकिन्छ । किनकि, यो समय हामी मनोरञ्जनको मुडमा हुन्छौँ र अनावश्यक खर्च गरेर पैसा सकाउँछौँ । अब त डिजिटल दक्षिणाको सुरुवात समेत भइसकेको छ । पैसाको बचत गर्नु भनेको आफ्नै सुविधा र भविष्यको सुरक्षा पनि हो । त्यसैले, अझैसम्म पनि बैंकमा खाता खोल्नुभएको छैन भने अब नजिकैको बैंक शाखामा गएर खाता खोल्नुहोस् र यसपालीको दक्षिणा बचत गर्नुहोस् ।

अहिले त बैंक खोज्दै बजार जानुपर्ने अवस्था पनि छैन । हरेक स्थानीय तहमा वाणिज्य बैंक नै पुगेका छन् । विकास बैंकहरु पनि गाउँ गाउँ पुगेर सेवा दिइरहेका छन् ।