काठमाडौं । लघुवित्त बैंकर्स संघको नेतृत्वका लागि २ जना चुनावी मैदानमा उत्रने भएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । संस्थाको अधिवेशन आइतबार ११ बजेलाई राखिएको छ । सकेसम्म सर्वसम्मत नै हुने र सहमति नजुटे निर्वाचन हुने बताइएको छ ।
शर्मा हाल संघको उपाध्यक्ष रहेका छन् भने लम्साल महासचिव हुन् । शर्मा अघिल्लो अधिवेशनमा पनि अध्यक्षका पत्यासी थिए । जोशीको कार्यकाल पुरा भए पछि सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेका शर्मा विरुद्ध लम्सालले उम्मेद्वारी दिने तयारी गरेका हुन् । लम्सालले चुनावकै लागि भनेर सीईओहरुसँगको छलफललाई तीव्र बनाएका छन् ।
संस्थाको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका सीईओ भेषबहादुर पन्थी र ग्रामीणका सीईओ पर्वत कार्कीले उम्मेद्वारी दिने तयारी गरेका छन् । यसैगरी संघको महासचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाका सीईओ अमरराज खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ । उनीहरु दुबै जनाले शनिबार अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए ।
यसैगरी सचिवमा रामहरी दाहाल आकांक्षी देखिएका छन् । मेरो माइक्रोफाइनान्सका सीईओ रहेका उनी संघको वर्तमान कोषाध्यक्ष हुन् । संघको कार्यसमितिमा बस्न कालिका लघुवित्त वित्तीय संस्थाका सीईओ मीनबहादुर बोहरा, जनउत्थान लघुवित्त वित्तीय संस्थाका सीईओ श्रीराम पोख्रेल, उन्नती माइक्रोफाइनान्सका सीईओ प्रेम पाठक लगायतका आकांक्षी छन् ।