बैंकिङ खबर । बैंकिङ कसुर एवम् साइबर क्राइमका विषयहरु पछिल्लो समय निकै नै सार्वजनिक भइरहेका छन् । यसै साता एक बैंकरलाई बैंकिङ कसुरको अभियोग लागेको छ । कृषि विकास बैंकमा भएको ह्याकिङ प्रकरणले बैंकिङ क्षेत्रमा हलचल पैदा गरिरहेको छ । केही समयअघि मात्रै नेपाल र भारतका एटिएमहरुको सिस्टममा भएको ह्याकिङ प्रकरणले पैदा गरेको समस्याको हल भइनसक्दै भएको अर्को ह्याकिङले गर्दा बैंकिङ सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । यससँगै, यो साता बैंकिङ क्षेत्रका निम्न समाचारहरु हाइलाइटमा रहेः
कृषि विकास बैंक ह्याकिङ प्रकरण
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा चोरी भएपछि छानविन चलिरहेको छ । यस प्रकरणमा बैंककै कर्मचारीको संलग्नता पाइएको छ । चार करोड ४३ लाख रुपैयाँ चोरी भएको यस प्रकरणमा मिलेको आशंकामा बैंकको लाहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ । हालसम्म यस आरोपमा १२ जना पक्राउ परिसकेका छन् ।
बैंकर अजय श्रेष्ठलाई बैंकिङ कसुरको अभियोग
बैंकिङ कसुरको घटनामा पूर्व सिइओ पक्राउ परेका छन् । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले सुरुमा बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो । हालसम्म यस घटनामा संलग्न रहेको आरोपमा १६ जनामाथि मुद्दा परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा कर्जा दिएको तथा अति कम्जोर खोलाको जग्गा धितोमा ठुलो रकम दिएको अभियोग लगाएको छ । खोलाभित्रको जग्गा धितो राखेर कर्जा स्वीकृत गरिएको अनुसन्धानमा देखिएको बताइएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको हो । खोलाको जग्गामा ५ करोड रुपैयाँ रकम कर्जा स्वीकृत भएको र सो समय उनी सिइओ थिए ।
वाणिज्य बैंकका अध्यक्षहरुको छाता संगठन
बाणिज्य बैंकका अध्यक्षहरुले पनि छाता संगठन खोलेका छन् । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको संयोजकत्वमा बैंकर्स अध्यक्ष संघ गठन भएको हो । बैंकिङ क्षेत्रमा अध्यक्षहरुले सक्रियता बढाएको आरोप आइरहँदा यस्तो संगठन गठन भएको हो । तथापी बैंकिङ क्षेत्रमा गरिएको लगानी र त्यसको सुरक्षाका लागि संगठनको आबश्यकता महसूस भएको बैंकका एक अध्यक्षले बताएका छन् । उनका अनुसार लगानीकर्ताको हकहितका लागि संघ गठन गरिएको हो, यो कुनै प्यारालाल संस्था होइन । यता बैंकर्स संघको बैठकमा भने बैंकरहरुले अध्यक्षहरुको संस्थालाई ‘मालिक संस्था’को संज्ञा दिँदै एक आपसमा नकारात्मक टिप्पणी गरेका छन् ।
पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थितीबारे राष्ट्र बैंकको समीक्षा
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो एक महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकको समीक्षा प्रतिवेदन अनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा दुई प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति छ अर्ब पाँच करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । उक्त संचिति ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च दुई अर्ब ६२ करोड रुपैयाँ र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत रहेको छ ।
नोट सटही सुरु
शुक्रबारदेखि दशैँका लागि नोट सटही सुविधा सुरु भएको छ ।असोज १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्न सक्ने छन् । ५, १०, २०, ५० र १०० दरका नोट १।१ पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइन्छ । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयका साथै काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा एवम् कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नोट सटही सुविधा पाइन्छ ।




