Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारु नोट समस्या : समाधान गर्न गृह र अर्थबीच छलफल हुँदै

२०७६ आश्विन ७ गते

बैंकिङ खबर । नेपालीहरुको महान पर्व दशैं मनाउनका लागि स्वदेश फर्कने नेपालीहरुलाई भारतीय रुपैयाँको चिन्ता हुन सक्ने भन्दै यस विषयमा सरकारले चासो दिएको छ । हाल पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोट नेपालमा चल्दैनन् । तर रोजगारीको शिलशिलामा भारत पुगेकाहरुले नेपाल आउँदा ति नोटहरु ल्याउने र सीमा क्षेत्रमा समस्या हुने हो कि भनेर सरकारले चासो दिएको हो । यस विषयमा गृह मन्त्रालय र अर्थमन्त्रालयबिच छलफल हुने भएको छ । मंगलबार वा बुधबारसम्म छलफल भएर एउटा निचोड निस्कने अर्थमन्त्रालयका एक अधिकारीले बताए । यस विषयमा अर्थले राष्ट्र बैंकसँग मंगलबार नै धारणा माग्ने भएको छ ।
पाँच सय, एक हजार र दुई हजार दरका भारती नोटहरु नेपालका कारणले नभई भारतकै कारणले नेपालमा चल्न नसकेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए ।

अर्थ श्रोतले भने दुई दिनभित्रै यसको निचोड निस्कने बताएको छ । ‘हामीले कसरी हुन्छ सहज बनाओं भनेका छौं, हिजो संसदीय समितिले पनि निर्देशन दिइसकेको छ’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘आज र भोलिमै केहि निर्णय पक्कै आउछ ।’  यस अघि सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दशैंमा भारतबाट घर फर्किने नेपालीलाई भारतीय नोटका कारण दुःख नदिन सरकारलाई निर्देशन दिएको थियो । बैठकले दशैं मान्न घर फर्किने नेपालीले नेपालमा नचल्ने भारतीय नोट ल्याए पनि कारबाही नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । हाल नेपालमा भारतको एक सय रुपैयाँमात्र प्रचलन गर्न पाइन्छ । पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोटको कारोबार गर्न पाइदैन । तर भारतमा रोजगारी गर्नेले घर फर्किँदा यस्तो रकम बोक्न सक्ने गृहसचिव प्रेमकुमार राईले बताए । उनका अनुसार नेपालमा नचल्ने भारतीय नोट किन ल्याएको भन्दै बोर्डरमा प्रहरीले दुख दिन सक्छ । 

समिति सभापति शशी श्रेष्ठले गृह मन्त्रालयलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी यो समस्या सुल्झाउन निर्देशन दिएको बताइन् । छलफलमा सांसदहरुले नेपाल प्रवेश गर्नुअघि भारतीय नोट उतै (बोर्डर) मा साट्ने ब्यवस्था मिलाउन सकिन्छ कि भन्ने प्रस्ताव गरेका थिए । त्यसो गर्दा चोरी र डकैतीको सम्भावना रहेको केही सांसदहरुले नै बताए । जवाफमा गृहमन्त्री रामबहादुर थापाले अर्थमन्त्रालयसँग कुरा गरेर नेपालमा नचल्ने भारतीय नोट लिएर आउनेहरुलाई पर्न सक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

Ad