बैंकिङ खबर । सात वटा वाणिज्य बैंकहरुले मर्जरका लागि प्रक्रिया अघि बढाएका छन् । मर्जरका लागि प्रतिवद्धता पेश गरेर पनि मर्जरसम्बन्धी काम अघि नबढाएका कारण राष्ट्र बैंकले भदौ दोस्रो साता बैंकहरुसँग प्रगति विवरण मागेको थियो । जसमध्ये, हालसम्म सात वटा बैंकले मर्जरको प्रगति विवरण पेश गरेको राष्ट्र बैंकले जनाएको छ ।
नविल बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र पठाउँदै मर्जरमा जानका लागि उपयुक्त जोडी खोजिरहेको जानकारी दिएको छ । मर्जर र यसको विकल्पका बारेमा छलफल भएको र संचालक समितिबाट आवश्यक निर्णय गरेर अघि बढ्ने बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले असार १२ गते बैंकका अध्यक्ष तथा संचालकलाई मौद्रिक नीति अगाडि नै प्रतिबद्धता बुझाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार २२ बैंकले मर्जरको प्रतिबद्धता बुझाएका थिए । नविल बैंक प्रतिवद्धता नबुझाउने मध्येमा थियो ।
एभरेष्ट बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, जनता बैंक र सानिमा बैंकले पनि राष्ट्र बैंकसमक्ष प्रगति विवरण पेश गरेका छन् । यीमध्ये, एभरेष्टले पनि यसअघि मर्जरमा जाने प्रतिवद्धता बुझाएको थिएन । सञ्चालनमा रहेका २८ बैंकमध्ये असार मसान्तसम्ममा २२ वटा बैंकले प्रतिवद्धता बुझाएका थिए । जसमध्ये ग्लोबल आईएमई र जनता बैंकले मर्जरको सैद्दान्तिक समझदारी नै गरेर राष्ट्र बैंकमा बुझाएका थिए । प्रतिवद्धता नबुझाउनेमा नविल र एभरेष्टबाहेक स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक थिए ।