बैंक तथा वित्तीय संस्थाले एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिका नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता नखोल्न निर्देशन दिएको हो । यो व्यवस्थापछि बैंकहरूले एउटा व्यक्तिको नाममा बचत तथा चल्ती खाता एउटार एउटा मात्र खोल्न पाउनेछन् ।
यसअघि बैंकहरूले खाताको संख्या बढाउन एउटै व्यक्तिको नाममा धेरै खाता खोल्दै आएका थिए । यसैगरी ऋण कारोबार गर्दा शाखा नै पिच्छे खाता खोल्न बाध्य गराउँदै आएका थिए । बैंकहरूले ग्राहकको संख्या बढी देखाउनका लागि समेत खाता संख्या बढाउँदै आएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक वित्तीय संस्थामा सर्वसाधारणको १ करोड ५० लाख खाता छन् ।
यसैगरी एउटै व्यक्तिलाई एकभन्दा बढी प्रकरणको डेबिट वा क्रेडिट कार्ड पनि जारी गर्न नपाइने निर्देशिका समेत राष्ट्र बैंकले जारी गरेको छ । यस अघि एउटै प्रकृतिको धेरै खाता खोलेको र कार्ड जारी गरेको भए नयाँ व्यवस्थाअनुसार समायोजन गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । मुुद्दती खातामा भने यो व्यवस्था लागू नहुने निर्देशनमा उल्लेख छ ।