September 10th, 2019

बैंकको कर्मचारी हुनुहुन्छ ? कम्तिमा यति कुरा थाहा छैन नभन्नुहोला !

बैंकिङ खबर । नेपालमा मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुको संख्या अत्याधिक छ । तीमध्ये, प्रायःको टार्गेट बैंकिङ रोजगारी हुने गरेको छ । हुन त मेनेजमेन्ट अध्ययनको स्कोप निकै फराकिलो छ । तर, बैंकिङ रोजगारीको छुट्टै आकर्षण छ । बैंकहरुलाई योग्य कर्मचारी चाहिएको छ भने विद्यार्थीहरुलाई जागीर चाहिएको छ । तर, पनि बैंकहरु राम्रो कर्मचारी नपाएको गुनासो गरिरहेका हुन्छन् भने विद्यार्थीहरु जागीर नपाएको गुनासो गरिरहेका छन् । वास्तवमा आफूले खोजेको जस्तो ज्ञान भएका आवेदक नपाएका कारण नै बैंकले जागीर नदिएको हुन्छ । जागीर पाइसकेका कर्मचारीमा पनि पूर्ण ज्ञान नभएका कारण काम प्रभावकारी नहुने, ग्राहक सन्तुष्ट नहुने र बैंकको छवि विग्रने जस्ता समस्याहरु आइपर्छन् । यस्तो समस्याको मूख्य कारण भनेको पूर्ण ज्ञानको अभाव हो । बैंकका कर्मचारीमा निम्न ज्ञान हुनु आवश्यक हुन्छः

वित्तीय अनुशासन
बैंक जस्तो संवेदनशील संस्थामा काम गर्ने कर्मचारीमा वित्तीय अनुशासनसम्बन्धी ज्ञान हुनु अति नै आवश्यक हुन्छ । अन्यथा, बैंकको रकम हिनामिना हुने, कर्जाको दुरुपयोग हुने जस्ता समस्या आइपर्छन् । यो कुरा बैंकमा जागीर खाने तयारी गरिरहेका, जागीर खाइरहेका र जागीरका लागि कर्मचारी छनौट गर्ने सबै पक्षले ध्यानमा राख्नुपर्छ ।

समयको महत्व र व्यवस्थापन
समयको महत्व र व्यवस्थापन सबै पेशा तथा व्यवसायका लागि आवश्यक विषय हो । बैंकका कर्मचारीहरुका लागि यो कुराले अझ बढी महत्व राख्छ । यसले संस्थामा एउटा सिस्टमको निर्माण हुन्छ र काम छिटो, सजिलो र प्रभावकारी हुन्छ । बैंकले धेरै प्रकारका ग्राहकलाई धेरै प्रकारका सेवा दिनुपर्ने भएकाले पनि समयको महत्व र व्यवस्थापनका बारेमा बैंकका कर्मचारीमा राम्रो ज्ञान हुनुपर्छ ।

राष्ट्र बैंकका नीतिहरु
नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने काम गर्दछ । बैंक, बैंकका कर्मचारी र ग्राहक सबैले राष्ट्र बैंकको नीति र निर्देशनअनुसार चल्नुपर्ने हुन्छ । त्यसैले, राष्ट्र बैंकका नीतिहरुका बारेमा बैंकका कर्मचारीहरुलाई जानकारी हुनुपर्छ । नीतिको परिमार्जन, निर्देशिका तथा अन्य गतिविधिका बारेमा बैंकका कर्मचारीहरु अपडेट भइरहनुपर्छ ।

बैंकिङ कसुर र सजाय
कस्तो अवस्थामा बैंकिङ कसुर लाग्छ र कस्तो कसुरमा कस्तो सजाय हुन्छ भन्ने विषयमा बैंकका कर्मचारीलाई जानकारी हुनुपर्छ । यसका लागि बैंकिङ कसुरसम्बन्धी ऐन पढ्नुपर्छ र सोमा उल्लिखत कसुर लाग्ने क्रियाकलापहरु गर्नुहुँदैन । बैंकिङ कसुर लाग्नबाट बच्न केके कार्य नगर्ने भन्ने विषयमा जानकार रहनुपर्छ ।

मौद्रिक नीति
बैंक तथा वित्तीय संस्थालाई नियमन गर्नका लागि नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति जारी गर्छ भने समयसमयमा समीक्षा गरी केही परिमार्जनहरु समेत गरिरहेको हुन्छ । यस विषयमा बैंकमा काम गर्ने कर्मचारीहरुलाई जानकारी भएको हुनुपर्छ । मौद्रिक नीति कार्यान्वयनका लागि जारी भएको सर्कुलरका बारेमा पनि जानकारी हुनुपर्छ । यसले मौद्रिक नीति कार्यान्वयनमा सहयोग पुग्न भई बैंकिङ क्षेत्रको व्यवस्थापन सुदृढ हुन पुग्दछ ।

बैंकिङ टेक्नोलोजी
बैंकिङ क्षेत्रमा प्रविधिमा निकै अगाडी बढिसकेको छ । बैंकिङ क्षेत्रमा प्रयोग भइरहेका सबै प्रविधिहरुको बारेमा कर्मचारीहरुलाई जानकारी हुनुपर्छ । ती प्रविधिको उपयोगिता र काम गर्ने सिस्टमका बारेमा पनि जानकारी हुनुपर्छ । तब मात्र कर्मचारीले ग्राहकलाई प्रविधिको प्रयोगका बारेमा बुझाई प्रयोगकर्ता बढाउन सक्छन् । त्यस्तै, प्रविधिको दुरुपयोग नहोस् भन्नाका खातिर पनि कर्मचारीहरुलाई बैंकिङ टेक्नोलोजीका विषयमा जानकारी आवश्यक हुन्छ ।

पुँजीबजार
बैंकका कर्मचारीलाई पुँजी बजारका विषयमा पनि जानकारी हुनुपर्छ । सेयर बजार कसरी संचालन हुन्छ, केके कुराले बजार प्रभावित हुन्छ भन्ने विषय लगायत सेयर बजारका दैनिक गतिवधिहरु, उतारचढाव लगायतका विषयमा जानकारी भइरहनुपर्छ । आफू कार्यरत संस्थाको सेयर मूल्य, जारी हुन लागेका हकप्रद वा बोनस सेयर लगायतका विषयमा पनि जानकारी राख्नुपर्छ ।

बीमा
आजकल बैंक र बीमा एकअर्काका परिपूरक जस्तै भएर काम गरिरहेका छन् । बैंकमा राखिने निक्षेप र बैंकबाट लिने कर्जाको बीमा गर्नुपर्ने, बीमा गरिएका घर गाडीमा मात्रै बैंकले लगानी गर्ने जस्ता व्यवस्थाका कारण बैंकका कर्मचारीलाई बीमाबारे जानकारी अत्यावश्यक भएको छ । त्यस्तै, बीम कम्पनीहरुले पनि आफ्नो प्रोडक्ट विक्रीका लागि बैंकसँग सम्झौता गर्ने गरेका छन् । यसरी, बैंक र बीमाले मिलेर सेवा प्रदान गरिरहेका सन्दर्भमा यस्ता संस्थामा काम गर्ने कर्मचारीहरु पनि यस विषयमा जानकार रहनुपर्दछ ।

यस्ता आवश्यक ज्ञान तपाईँसँग छ भने तपाईँले बैंकमा जागी पाउने मात्र नभएर टिकाउ हुने र पदोन्नति हुने सम्भावना पनि धेरै नै रहन्छ । यस्ता नीतिगत र अन्य ज्ञानले बैंकिङ व्यवसायलाई मर्यादित र भरपर्दो बन्न सघाउँछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]