September 8th, 2019

मनकामना लघुवित्त र स्मार्ट लघुवित्त गाभिँदै

बैंकिङ खबर । रुपन्देहीको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरीले गाभ्ने/गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

छ करोड ८२ लाख ५० हजार रुपैयाँ चुक्तापुँजी भएको मनकामना र एक करोड ४० लाख रुपैयाँ चुक्तापुँजी भएको स्मार्ट गाभिएर मनकामना स्मार्ट लघुवित्त बन्नेछ भने चुक्तापुँजी आठ करोड २२ लाख ५० हजार पुग्नेछ । सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्नेछ ।

सम्झौताअनुसार, मर्जरपछि बन्ने लघुवित्तको केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहनेछ भने अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुने छ । स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ । मर्जरपछि संचालक समितिमा ३।३ जनाको प्रतिनिधित्व रहने सहमति भएको छ ।

एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका लघुवित्तहरुले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति गरेका छन् ।
सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आयो आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने समेत समझदारीपत्रमा स्पष्ट पारिएको छ ।

१८ महिनाअघि संचालनमा आएको मनकामनाको करिव ४७ करोड कर्जा, ११ करोड बचत र ८ हजार सदस्य रहेका छन् । गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई ८ महिनादेखि संचालनमा आएको स्मार्टको १४ करोड कर्जा ७ करोड बचत र ७ हजार सदस्य रहेका छन् । मनकामनाका १६ वटा शाखा संचालनमा छन् भने स्मार्टको शाखा संख्या सात रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]