बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिको सबैभन्दा ठूलो प्रभाव ख वर्गका बैंक अर्थात विकास बैंकलाई परेको छ । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरुले अहिले २९ मा सीमित भएको छ । यीमध्ये पनि केही विकास बैंकहरु मर्जरमा जाने तरखरमा छन् ।
विकास बैंकहरु प्रायः वाणिज्य बैंकमा विलय भएका छन् भने केही विकास बैंकहरु एकआपसमा मिलेर ठूलो विकास बैंक बनेका छन् । २०६८ सालको मर्जर नीतिपछि नै घट्न थालेको विकास बैंकको संख्या पुँजीवृद्धिको नीतिका कारण झन् घट्न पुग्यो । अहिले बैंकहरु पनि संघीय संरचनामा जानुपर्ने नीतिले साना बैंकहरुलाई मर्जरमा जान बाध्य पारेको छ । त्यसमाथि पनि राष्ट्र बैंकले मौद्रक नीतिमार्फत बीग मर्जरलाई प्रोत्साहन गरेपछि मर्जरले अझै तीव्रता पाउने देखिएको छ ।
अहिले राष्ट्रिय स्तरका ११ वटा बैंक मात्रै संचालनमा छन् । मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, ओम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक हुन् । यसमध्ये, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिँदैछ भने ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा गाभिन लागेको छ ।
बाँकी १८ वटा बैंकहरु नारायणी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, कर्णाली विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सहारा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंक रहेका छन् ।
यीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाभ्दैछ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरका स्तरोन्नति हुने तरखरमा छ । सहारा विकास बैंक देवः विकास बैंकमा गाभिँदैछ । सहायोगी विकास बैंकलाई सिटिजन्स बैंकले गाभ्दैछ । कन्काई विकास बैंकलाई प्राइम कमर्सियल बैंकले गाभ्दैछ ।
यसरी अझै पनि ११ वटा विकास बैंकहरु मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल रहेका छन् । जसबाट आठ वटा विकास बैंकको संख्या घट्नेछ । अन्ततः छिटै नै विकास बैंकको संख्या २१ कायम हुँदैछ । त्यसबाट पनि एक जिल्ले वा तीन जिल्ले विकास बैंकहरु प्रदेश स्तरमा स्तरोन्नति हुन मर्जरमा जानुपर्ने अवस्था छ भने मर्जरबाट आफू स्तरोन्नति हुन नसकेको अवस्थामा ठूला बैंकसँग विलय हुनुपर्ने अवस्था छ ।




