Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकको सिस्टम ह्याक गर्ने गिरोहहरु कुनकुन देशमा सकृय ?

२०७६ भाद्र २० गते

बैंकिङ खबर । पछिल्लो समय साइबर क्राइम विश्वव्यापी रुपमा नै बढ्दो छ । सन् २०१६ यता साइबर सेक्युरिटीलाई महत्वका साथ हेर्ने गरिएको छ । तर पनि साइबर क्राइम घट्न सकेको छैन । प्रविधिको दुरुपयोगबाट विशेष गरी बैंकिङ सिस्टम ह्याक गरेर पैसा लुट्ने काम भइरहेको छ । हाल नेपालले भोगिरहेको यो समस्या विश्वका थुप्रै बैंकहरुले भोगिसकेका छन् । ह्याकरहरुले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, बैंकिङ कार्ड लगायत बैंकिङ क्षेत्रमा भित्रिएका प्रविधिहरुलाई ह्याक गरेर पैसा निकाल्ने गरेका छन् ।

नेपाल र भारतका एटिएमहरु ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौँ रुपैयाँ ह्याक गरेको घटना सेलाएको छैन । एटिएम सिस्टम कसरी ह्याक भयो र कसरी सुरक्षा अपनाउने भन्ने विषयमा छानविन चलिरहेको छ । राष्ट्र बैंकद्धारा गठित अध्ययन समितिको सुझावअनुसार, एटिएमबाट निकाल्न मिल्ने रकमको सीमा समेत घटाइएको छ ।

नेपालको यो घटना सेलाउन नपाउँदै जर्मनीमा डेबिट कार्डबाट ह्याकरहरुले १.५ मिलियन युरो निकालेका छन् । जर्मनीमा ब्राजीलको अपराधिक समूहले डेबिट कार्डको प्रयोगबाट चोरी गरेको हो । उक्त समूहले जर्मन बैंक ओएलबीले जारी गरेको मास्टरकार्ड प्रयोग गरी २ हजारभन्दा बढी ग्राहकका खाताबाट उक्त रकम चोरी गरेको खुलेको छ । बैंकले पुरानो सबै कार्ड ब्लक गरेर त्यसको ठाउँमा नयाँ कार्ड परिवर्तन गर्ने बताएको छ । मास्टर कार्डले पनि यस विषयमा छानविन थालेको छ ।

यसबाहेक, सन् २०१९ मा जापान, माल्टा, अमेरिका, बंगलादेश, भारत, चिली, बेलायत लगायतका देशमा बैंकिङ सिस्टममाथि ह्याकरले हमला गरेको घटना अगाडी आएको छ । जनवरी १० मा चिलीको एटीम इन्टरबैंक नेटवर्क ह्याक गरिएको थियो । स्काइपमा फेक जब इन्टरभ्यु गरी एउटा प्रोग्राम डाउनलोड गर्न लगाएर एटीएम सिस्टम ह्याक गरिएको खुलेको थियो ।

बेलायतको मेट्रो बैंकमा फेब्रुअरी २ का नयाँ प्रकारको साइबर क्राइम भयो । ग्राहकको कारोबार भेरिफाई गर्न लिइने अथेन्टिकेसन कोड भएको टेक्स्ट मेसेजलाई ह्याक गरेर पैसा निकालिएको थियो । फेब्रुअरी ४ मा भारतको एसबीआई बैंकको सर्भर ह्याक गरिएको कुरा बाहिरिएको थियो । यद्यपि, बैंकले आफ्नो सर्भर सुरक्षित रहेको दाबी गरेको थियो । सिस्टम ह्याक गरेर ह्याकरहरुले ग्राहकको व्यक्तिगत विवरण चोर्ने प्रयार गरेका थिए ।
अमेरिकामा फेब्रुअरी ८ मा स्पेयर फिसिङको घटना बाहिरिएको थियो । इमेलमार्फत बैंकका कर्मचारीलाई लिंक पठाएर बैंकको सिस्टम ह्याक गर्ने प्रयास गरिएको थियो । यद्यपि, कुनै कर्मचारीले पनि त्यो लिंक नखोलेको विश्वास गरिएको थियो ।

फेब्रुअरी महिनाकै १३ तारिखमा माल्टाको बैंक अफ भलेटामा १३ मिलियन युरो चोर्ने प्रयास गरिएपछि बैंकको कारोबार नै बन्द गर्नुपरेको थियो । ह्याकरले थुप्रै माल्टीज बैंकबाट अमेरिका, बेलायत, चेज रिपब्लिक र हङकङका बैंकमा ट्रान्सफर रिक्वेस्ट पठाएका थिए । बैंकका कर्मचारीलाई शंकाष्पद लागेपछि बैंकको एटिएम, शाखा, पस लगायत सबै कारोबारका माध्यमहरु तुरुन्तै बन्द गरिएको थियो । यो घटनामा ग्राहकको खातामा क्षति नपुगेको बताइएको छ ।

यस्ता थुप्रै घटना संसारभरी भइरहेका छन् । इन्टरनेटमार्फत हुने अपराध भएकाले र अन्तर्राष्ट्रिय समूहको संलग्नता हुने भएकाले यस्ता अपराधीहरुलाई कानुनी दायरामा ल्याउन कठिनाई हुने गर्दछ । बारम्बार र फरकफरक तरिकाले हुने यस्ता घटनाबाट साइबर सुरक्षामा चुनौति थपिएको छ ।