बैंकिङ खबर । चिनियाँ ह्याकरहरुले एटीएमबाट करोडौं रुपैयाँ ठगी गरेको विषयमा राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले एटीएममा तोकिएको रकमको सीमा कम गर्न सुझाव दिएको छ । अहिले एक पटकमा २५ हजार रुपैयाँ र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइनेमा तत्कालका लागि यसलाई कम गर्न सुझाव दिइएको छ ।
समितिले तत्काल गर्नुपर्ने, मध्यकालिन र दीर्घकालिन गरी सुझावहरु पेश गरेको छ । एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ । बैंकहरुले प्रयोग गरिरहेको म्यागनेटिक स्ट्रिप कार्डलाई परिवर्तन गरी चिप कार्ड लागू गर्नका लागि पनि सुझाव दिएको छ । बढी प्रयोग हुने एटीएमहरुमा लगातार निगरानी राखिराख्नु पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले एटिएम ह्याकिङ प्रकरणको अध्ययन गर्नका लागि भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित ५ सदस्यीय समिति गठन गरेको थियो । पाँच सदस्यीय समितिमा राष्ट्र बैंकका आईटी प्रमुख शिवप्रसाद दुवाडी, अनुज दहाल, नेप्सका अध्यक्ष प्रवीण क्षेत्री र बैंकर संघका तर्फबाट रोशन रेग्मी थिए ।


