बैंकिङ खबर । उमेर हदका कारण पदमुक्त हुनुपर्ने भएपछि प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्वोच्च अदालतको शरण लिन पुगेका छन् । नेपाल राष्ट्र बैंकले मनलाग्दी निर्णय गर्दै जबरजस्ती कार्यान्वयन गराउन खोज्नु कानूनसम्मत र व्यवहारिक नदेखिएको भन्दै उनले सो आदेश स्थगित गर्न माग गरेका छन् । उनले साउन २२ गते उत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका छन् ।
राष्ट्र बैंकले उमेर हद लागू गर्नुभन्दा चार दिन अघि मात्रै उनी प्राइम बैंकमा नयाँ कार्यकालका लागि पुनः नियुक्त भएका थिए । राष्ट्र बैंकले परिपत्र जारी गर्दै ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनःनियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने व्यवस्था लागू गरेपछि उनले तत्काल पद छोड्नुपर्ने अवस्था आएको थियो । मानन्धर पदमुक्त भएसँगै बैंकले सञ्जिव मानन्धरलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिसकेको छ ।


