बुद्ध एयरले भुक्तानी मितीभन्दा साढे २ वर्षपहिले नै विश्व बैंकसँग लिएको ऋण चुक्ता गरेको छ । कम्पनिले चार वर्ष अघि विमान किन्नका लागि विश्व बैंकको भगिनी संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशनबाट ७० करोड रुपैयाँ (६९ लाख डलर) ऋण लिएको थियो । २० मार्च २०१२ मा स्वीकृत भएको यो ऋणको भुक्तानी तालिका सन् २०१८ सम्मका लागि थियो । बुद्ध एयरले एक प्रेस विज्ञप्ती जारी गरेर भुक्तानी तालिकाभन्दा अढाइ वर्ष अघि नै आइएफसिको ऋण चुक्ता भएको जानकारी दिएको हो ।
बुद्ध एयरले यो ऋणबाट सन् २०११ सेप्टेम्वरदेखि लिजमा रहेको एटिआर ७२ ८६ करोड रुपैँयामा सन् २०१२ मा खरिद गरेको थियो । सोही ऋणबाट कम्पनिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्लोज डोर ह्याङ्गर पनि तयार गरेको थियो । आईएफसिको ऋण लगानीबाट बुद्ध एयरलाई संस्थागत गर्न मद्दत पुगेको र गुणस्तरीय व्यवस्थापन विभागको सिर्जना, संस्थागत सुशासनसहित अन्तराष्ट्रिय मापदण्डको सञ्चालन सुरक्षा पनि यो ऋण लगानीबाट सिर्जना विज्ञप्तिमा उल्लेख छ ।