बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३४ अर्ब ४१ करोड कर्जा प्रवाह भएको छ । सहुलियत कर्जा कार्यक्रमका अन्तर्गत साढे १६ हजार जना भन्दा बढीले सरकारले व्यवस्था गरेको ५ प्रतिशत ब्याज अनुदानमा सहुलियत कर्जा लिएका हुन् ।
जसमा वाणिज्य बैंकहरुले सबै भन्दा बढी ३२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन् । साथै विकास बैंकले २ अर्ब ८ करोड रुपैयाँ र वित्त कम्पनीले ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन ।
राष्ट्र बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, भूकम्पपीडितको निजी आवस निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।
यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा ४६ जनाले दुई करोड ७२ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक विकास शिक्षा ५६ जनाले एक करोड ५८ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ७० जनाले दुई करोड १८ लाख कर्जा पाएका छन् । राष्ट्र बैंकका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा शीर्षकमा १६ जनाले ९३ लाख ५० हजार, विदेशबाट फर्केका युवा परियोजना कर्जा ३२ जनाले दुई करोड ३१ लाख, महिला उद्यमी कर्जा पाँच सय २९ जनाले ३७ करोड २३ लाख कर्जा पाएका छन् ।
यसैगरि, सहुलियत कर्जामा सबैभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा शीर्षकमा कर्जा प्रवाह भएको छ । उक्त शीर्षकमा ३३ अर्ब ९४ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएकोे छ । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनदुानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बिनाधितो कर्जाको प्रकृति अनुसार ३ लाखदेखि अधिकतम १० लाखसम्म रुपैयाँसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था छ ।
यस्तै, महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपन्छीपालनका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य सबै सहुलियत कर्जामा पाँच प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ ।




