बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र बैंकको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट एक महिना अगाडि मात्रै अवकाश भएका थापाले मौद्रिक नीति सार्वजनिक गर्ने मिति तय गर्न राष्ट्र बैंक चुकेको बताएका हुन् ।
वर्षमा एक पटक मौद्रिक नीति सार्वजनिक हुने गरेको छ भने त्रैयमासिक रुपमा मौद्रिक नीतिको समीक्षा हुँदै आएको छ । यी कामहरु कुन मितिमा गर्ने भन्ने क्यालेन्डर बनाउन राष्ट्र बैंक चुकेको थापाले बताए । बुधबार राधजानीमा आयोजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा बोल्दै उनले भने क्यालेन्डर बनाएर मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा राष्ट्र बैंक चुकेको बताएका हुन् ।
यद्यपी मौद्रिक नीति आर्थिक वृद्धिदरमा सहयोग पुग्ने किसिमको आएको उनले बताए । यसमा निजी क्षेत्रले असन्तुष्टि जनाउनु आवश्यक नरहेको उनको विचार छ ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकको स्प्रेड रेट महंगो भएको बताएका छन् । विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालको बैंकहरुमा स्प्रेडदर महंगो भएका कारण राष्ट्र बैंकले स्प्रेडदर धेरै समायोजन गर्नु पर्ने भएता पनि मौद्रिक नीतिले ०.१ प्रतिशत मात्रै घटाएको गुनासो गरेका छन् ।
मौद्रिक नीतिले ब्याजदर घटाउने र लगानी योग्य रकमको अभाव समस्या समाधान गर्छ भन्ने निजी क्षेत्रको अपेक्षा पूरा नभएको गुनासो गरेका हुन् ।




