July 25th, 2019

‘पछि हटेको होइन,फोर्स मर्जरमा राष्ट्र बैंकले एक कदम बढाएको हो’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले राष्ट्र बैंक फोर्स मर्जरको नीतिबाट पछि नहटेको बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमाथि मिडिया इन्टरनेशनलले आयोजना गरेको मौद्रिक नीति समिक्षा कार्यक्रममा बोल्दै उनले अहिले राष्ट्र बैंकले फोर्स मर्जरका लागि एक कदम अगाडी बढाईसकेको बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिमा मर्जरमा जाने बैंकहरुलाई प्रोत्साहन गरिएको भएता पनि आगामी बर्ष सम्म प्रोत्साहित मर्जरमा नजाने बैंकहरुलाई फोर्स मर्जर नीति ल्याइने उनले बताए ।

सार्वजनिक मौद्रिक नीति मुलुकको सम्पूर्ण अर्थतन्त्र विकास र वृद्धिमा सहयोग गर्ने नै भएको दावी गर्दै उनले मौद्रिक नीतिले नसमेटिएका विषयहरुलाई राष्ट्र बैंकले आगामी नीतिहरुमा समावेश गर्ने प्रतिवद्धता गरेका छन् । उनले बैंक मर्जरकै विषयमा केन्द्रित रहँदै नेपालमा विकास बैंक तथा वित्तीय कम्पनी १५/१५ वटा र वाणिज्य बैंकहरु १५ को संख्या उचित रहने उल्लेख गरे । साथै बैंकहरुले बीमा पोलिसीहरु कमिसनको लोभमा बिक्री गरेको हुँदा आवश्यकता भन्दा बढि बीमा पोलिसीहरु बैंकहरुबाट बिक्री गर्न नमिल्ले व्यवस्था राष्ट्र बैंकले गरेको बताए ।

यस्तै, बजेटमा सुनलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्न मिल्ने उल्लेख गरिएतापनि त्यसमा व्यवहारिक कठिनाईहरु भएको कारणले नीतिगत व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्न नसकेको डेपुटी गभर्नर सिवाकोटीको भनाई छ । उनले बजेटको लक्ष्य पुरा गर्नका लागि पनि राष्ट्र बैंकले चुनौति लिएरै मौद्रिक नीतिमा केही जोखिमहरु समेटेको उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै बैंक विज्ञ नरबहादुर थापाले राष्ट्र बैंकले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति विस्तारकारी भएको बताएका छन् । उनले मौद्रिक नीतिले व्याजदरलाई सम्बोधन गर्नु तथा साधारण पुनरकर्जामा सहुलियत दिने जस्ता कार्यक्रम समेट्नु स्वागत योग्य कदम भएको बताए । साथै विगत केही वर्षदेखि चलिरहेको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिमा राष्ट्र बैंकले केही परिवर्तन गर्नुपर्ने बताए । वाणिज्य बैंकहरुमा विकास बैंक तथा वित्त संस्थाहरु छुट्टाछुट्टै उद्देश्यले स्थापना भएको हुँदा सबै बैंक तथा वित्तीय कम्पनीहरुको स्थायित्व वित्तीय क्षेत्रमा चाहिने बताउँदै उनले विकास बैंक र वित्तीय कम्पनीहरु मासिन नदिन राष्ट्र बैंकलाई सुझाव दिएका हुन् ।

यसैगरि कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले मौद्रिक नीतिमा लघुवित्तहरुलाई पूर्ण नसमेटेको बताएका छन् । उनले लघुवित्तको पुँजी वृद्धि, मर्जर र स्रोत व्यवस्थापनमा राष्ट्र बैंकले उचित नीति नलिएको गुनासो गरेका हुन् । लघुवित्तहरुले विना धितो कर्जा प्रवाह गर्ने हुँदा जोखिम बढि यसै क्षेत्रमा हुने उल्लेख गर्दै लघुवित्तहरुको चुक्ता पुँजीको दायरा वृद्धि गरि संस्था दरिलो बनाउन राष्ट्र बैंकले भूमिका राख्नुपर्ने उनको भनाई हो ।

मौद्रिक नीति समिक्षा कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका सरोकारवाला व्यक्तिका साथै आर्थिक पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]