दिलु कार्की
बैंकिङ खबर । वित्तीय बजारमा ‘बिग मर्जर’ को यतिबेला बिषय निकै चर्चामा छ । सरकारले बजेटमा नै ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख भए पछि शुरु भएको बिग मर्जरको चर्चा सरकारकै लगानी भएको बैंकहरुमा शून्य प्रायः छ ।
नीजि क्षेत्रको लगानी रहेका अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनलाई शिरोपर मर्जरको प्रतिवद्धता बुझाई सकेका छन् । सरकारकै लगानीमा सञ्चालन भइरहेका वाणिज्य बैंकहरु भने कानमा तेल हालेर बसे झै भएका छन् । सरकारी स्वामित्वका ३ सँगै निजी क्षेत्रकै केहि बैंक समेत चुपचाप छन् ।
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरका लागि सम्झौता नै गरिसकेका छन् । ठुला बैंकहरुको संख्या घटाउने सरकारी नीतिलाई २३ वाणिज्य बैंकहरुले सघाउने संकेत गरेका छन् । उनीहरुले कागजी प्रतिवद्धतामात्रै भए पनि राष्ट्र बैंकलाई बुझाएका छन् । तर सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल बैंक लिमिटेड किन चुप ? के सरकारले आफ्नै लगानीका बैंकलाई मर्जरमा लैजान सक्दैन ?
सरकारले ठूला बैंकहरुको मर्जर गर्न नयाँ नीति लिने बताइरहदाँ सरकारी बैंकमा भने मर्जको माहोल अझै नबनेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउछन् । ‘राष्ट्र बैंक स्वयम सरकार हो, हामी सरकारी स्वामित्वका बैंकलाई मर्जर हुन सरकारले नै पहल गर्नु पर्छ’ उनले भने, ‘संचालक समितिमा सरकार छ, सरकारको तर्फबाट आज सम्म मर्जर औपचारीक छलफल केही भएका छैनन् ।’ ३ सरकारी बैंकका प्रमुखहरुमा भने मर्जर पछिका चुनैती, सम्भावना र अवसरहरुको बारेमा केही छलफलहरु भएको उनले जानकारी दिए ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत अषाढ १२ गते नै २८ वटै वाणिज्य बैंकका प्रमुखहरुलाई मौद्रिक नीति भन्दा अगाडि मर्जरको पाटर्नर खोजि लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका थिए । २ बैंकले खोजिसके भने अन्य बैंक खोजने तयारीमा रहेका छन् ।
बैंकरहरु यतिबेला मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीति सार्वजनिक हुने मिति परिवर्तन भइरहदा केहि अन्योलता देखिएको छ ।
स्पष्ट रुपमा नै गभर्नरबाट आएको मौखिक निर्देशन सरकारी स्वामित्वका बैंकहरुमा नटेरेर अवज्ञा नै गरेका छन् । सरकारी बैंकहरुलाई कसरी मर्जरमा सहभागी गराउने भन्ने अन्तिम निर्णय सरकारको नै हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौताले बताए ।
‘सरकारले बजेटमा उल्लेख गरेको ठुला बैंकको संख्या घटाउने कुरा सार्वभौम सत्ताले संसदमा पारिद गरिसकेको छ’ प्रवक्ता निरौला भन्छन्, ‘राष्ट्र बैंकले सरकारी बैंकहरुको मर्जरका लागि ताकेता लगाउन मिल्दैन, सरकारको निणर्य के हुन्छ हेरौला ।’
मौद्रिक नीति पश्चात मात्र सरकारी बैंकहरुको अस्थित्व बैंकिङ क्षेत्रमा कत्ति हुन्छ भनेर थाहा हुने उनको भनाई हो । अहिले नीजि क्षेत्रका वाणिज्य बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतहरु मर्जरका लागि साझेदार खोज्नमा तल्लिन छन् । तर यो बेला सरकारी बैंकहरु भने मर्जरको केही तयारी गरेका छैनन् ।
अल्टिमेटम दिएता पनि सरकारी बैंकको मर्जरका लागि राष्ट्र बैंकले ताकेता नगरेको नेपाल बैंकका सह– प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बताए । ‘हामी त चनाखो भएर बसेका छौ, मर्जरका लागि सरकारबाट केही निर्देशन आउला भनेर’ उनले भने, ‘बोर्डबाट निर्देशन हुने बित्तिकै हामी सरकारी होस् या नीजि स्वामित्वका बैंकहरु संग मर्जरको प्रकृया शुरु छौं ।’ राष्ट्र बैंक र अर्थमन्त्रालय बिच सरकारी बैंकको मर्जर सम्बन्धी छलफल भएको भएता पनि बैंकको कार्यसमितिमा भने हाल सम्म केही छलफल नभएको उनले जानकारी दिए ।
राष्ट्रिय वाणिज्य बैंक पुर्ण सरकारी स्वामित्वको बैंक हो भने कृषि विकास बैंक र नेपाल बैंकमा सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत स्वामित्व रहेको छ । यदी सरकारी बैंकहरु नै आपसमा मर्जर भएर नेपालमा सरकारी स्वामित्वको बैंक १ वटा मात्र हुने हो भने पनि सरकारको ६५ प्रतिशत ३५ प्रतिशत जनताको स्वामित्व हुनु पर्ने जानकारहरुको भनाई छ । हाल बैंकिङ क्षेत्रमा सरकारी बैंकहरुको १५ प्रतिशत हिस्सा रहेको छ । बैंकको संस्या घटाउने नीतिसंगै सरकारले सरकारी स्वामित्व बैंकिङ क्षेत्रबाट कति घटाउने निक्यौल भइसकेको छैन ।
