बैंकिङ खबर । कर्जा तथा निक्षेप अनुपात (सिसिडी रेसियो) सम्बन्धी बैकर्सहरुको माग राष्ट्र बैंकले पुरा गर्ने भएको छ । राष्ट्र बैंकले वासेल थ्रि पूर्ण कार्यान्वयनमा ल्याएर सिसिडी रेसियो बिस्तारै हटाउने भएको हो । वासेल थ्रि अनुसार बैंकहरुसँग भएको तरल सम्पतिको जोखिम अनुसार तरलता कायम गर्नु पर्छ ।
बैंकर्सहरुले केही बर्ष अगाडिबाट नै सिसीडी रेसियोमा लचकता अपनाउन वा सिसिडी गणना नीति नै हटाउन माग गर्दै आएका थिए । आर्थिक बर्ष २०७६/०७७ को मौद्रिक नीतिमा पनि बैंकर्सहरुले यस नीति हटाउन अथवा लचकता अपनाउन माग गरेका छन् । बैकिङ क्षेत्रको स्थायित्वका लागि र बैंकर्सहरुको मागलाई राष्ट्र बैंकले संबोधन गरेको बताएको छ ।
अहिले राष्ट्र बैंकले सिसिडी ८० प्रतिशत भन्दा बढि हुन नहुने ब्यवस्था गरेको छ । बैंकर्सहरु संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले वासेल थ्रि अनुसारको लिक्विडिटी कभरेज रेसियो कार्यान्वयन गरेपछि सिसिडी आवश्यक नपर्ने राष्ट्र बैंकको मौद्रिक नीति सुझाव संकलन अन्तरकृया कार्यक्रममा सुझाएका थिए ।


