बैंकिङ खबर । विदेशी विनिमय संञ्चिती ११ महिनामा ७० अर्बले घटेर १० खर्ब ३० अर्ब ८८ करोड कायम भएको छ । यस्तो संञ्चिती ०७५ असार मसान्तमा ११ खर्ब दुई अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब आठ करोड रहेकोमा २०७६ जेठ मसान्तमा नौ अर्ब २५ करोडमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको आठ खर्ब ८५ अर्ब ८३ करोड छ । बाँकी एक खर्ब ४५ खर्ब पाँच करोड बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको छ । यस्तो सञ्चिति २०७५ असार मसान्तमा राष्ट्र बैंकसँग नौ खर्ब ८९ अर्ब ४० करोड र बैंक तथा वित्तीय संस्थाहरुसँग एक खर्ब १३ अर्ब १९ करोड थियो ।
आर्थिक वर्ष २०७५÷७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २९.८ प्रतिशत, ६४.६ प्रतिशत र ३० प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।


