July 22nd, 2019

११ महिनामा झन्डै आठ खर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर । आर्थिक वर्ष २०७५।७६ को ११ महिनामा मुलुकमा झन्डै आठ खर्ब रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५ प्रतिशतले बढेर सात खर्ब ९९ अर्ब दुई करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको जेठ मसान्तमा छ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंकले हुण्डी नियन्त्रण गरी रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन विभिन्न पहल गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि रेमिट्यान्स बढिरहेको हो । यो अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

रेमिट्यान्स बढेसँगै खुद ट्रान्सफर आय पनि १६.६ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्ममा नौ खर्ब पाँच अर्ब १४ खरोड रुपैयाँ खुद ट्रान्सफर प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।