Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

पुँजीगत लाभकर : कार्यान्वयन नहुँदै विवादमा

२०७६ श्रावण ५ गते

बैंकिङ खबर । पुँजीगत लाभकर गणना विधि कार्यान्वयनमा आएको दुई दिन नबित्दैदेखि विवाद सुरु भएको छ । सेयर लगानीकर्ता दबाब समूहले पुँजीगत लाभकर गणना विधि सम्बन्धमा आएका समस्या तत्काल समाधान नगरे कडा रूपमा प्रस्तुत हुने भन्दै विज्ञप्ति जारी गरेको हो ।

सीडीएससीले १ साउनबाट लागू गरेको पुँजीगत लाभकर गणना विधि लगानीकर्ताका लागि झन्झटिलो हुने गरी अवलम्बन गरेपछि लगानीकर्ता आन्दोलित बनेका छन् । बिहीबार नेपाल इन्भेस्टर फोरमले समेत पुँजीगत लाभकरको निर्धारण सीडीएसीबाटै हुनुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

सेयर लगानीकर्ता दबाब समूहले विज्ञप्ति जारी गर्दै सेयर बजारमा आन्दोलनमार्फत प्राप्त उपलब्धिमा विभिन्न खालका सुनियोजित षड्यन्त्र हुन थालेको जनाएको छ । १ साउनदेखि सीडीएससीले लागू गरेको पुँजीगत लाभकर गणना विधि र प्रक्रिया आमलगानीकर्ताका लागि निकै झन्झटिलो, अवैज्ञानिक र त्रुटिपूर्ण रहेकाले तत्काल सच्याउन माग गर्दै विज्ञप्ति जारी गरिएको हो ।

सीडीएससीको पछिल्लो निर्देशनले सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आमलगानीकर्ताको सहज तरिकाले सेयर खरिद बिक्री गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोज्नेको प्रयास सफल नहुने सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले बताए । आन्तरिक राजस्व विभागले नयाँ बजेटले गरेको व्यवस्थाअनुसार भारित औसत लागतमा ५ प्रतिशत पँुजीगत लाभकर गणना गर्नका लागि सीडीएस एन्ड क्लियरिङलाई गरेको पत्राचारमा आधारित रही लगानीकर्ता आफंै उपस्थित भएर कागजमा रेखात्मक सहीसमेत गर्नुपर्ने व्यवस्था गरिएपछि पुँजी बजारमा अन्योल बढेको छ । धेरै लगानीकर्ताको सेयर अभौतिक भइसकेको र पूर्णअनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच भइरहेको अहिलेको अवस्थामा नेप्से तथा सेयर दलालको प्रणालीबाट स्वतः भारित औसतलागत गणना गर्न सकिन्छ ।

लगानीकर्ताको कारोबार विवरण नेप्से, सीडीएससी र सेयर दलालसँग हुँदाहुँदै लगानीकर्तालाई कागजी प्रक्रियामा झन्झटिलो हुने गरी अव्यावहारिक नीति लागू गरी बजारलाई ध्वस्तै पार्न खोजेको ढकालले आरोप लगाएका छन् । उनले भने ‘प्रविधिको सहायताले सरल ढंगबाट गणना गर्न सकिने कुरालाई जटिल बनाई पुँजी बजारलाई फेरि आन्दोलित पार्ने र मनोबल खस्काउने प्रयास गरिको छ’ । सेयर बजारमा अभौतिक सेयर कारोबार अनिवार्य भएको मिति २०७२ साल पुस मसान्तसम्मको रेटलाई आधार मानेर गणना गर्ने भन्ने निर्णयलाई बेवास्ता गर्दै नियोजित रूपमा यो प्रक्रिया अपनाएको ढकालले बताए ।

यता सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकास गुप्ताले आधार मूल्य कुन समयलाई आधार मानेर तोक्ने भन्नेमा नै अन्योलता रहेको बताए । उनले भने सीडीएसी सबैभन्दा पछिल्लो निकाय हो, हामीभन्दा माथिल्लो निकाय पनि छन् ।

धितोपत्र सम्बन्धी ऐनलाई आधार मानेर हामीले पुँजीगत लाभकर गणना विधि लागू गरेका हौँ, यस विधिलाई परिर्वतन गर्न आपmूलाई अधिकार नभएको गुप्ताले बताए । यदि माथिल्लो निकायबाट निर्देशन आए कार्यान्वयन गरिनेसमेत उनले बताए । राजधानी दैनिकमा प्रकाशित