July 16th, 2019

लघुवित्तको १५ हजार कर्जाबाट सुरु गरेको व्यवसायबाट लाखौँ आम्दानी (अनुशरणीय सफलता)

बैंकिङ खबर । सुन्दर नगरी पोखराको रामवजारमा ३ आना घडेरीमा वनेको चिटिक्क परेको एकतले ढलान घर छ, सँगै ३ आनामा बनेको टिनले छाएको अर्को घर पनि छ । भाडामा लिएको जग्गामा बनेको गोठमा छन् रहर लाग्दा ९ वटा भैँसी २ वटा गाई र ७ पाडा, वाछाहरु । भाडामा लिएको ४ रोपनी जग्गामा मौसमी वेमौसमी तरकारी लटरम्म फलेका छन् । गाईवस्तुको हेरचाह र तरकारी खेतीका लागि दुईजना कामदार पनि छन् । यो सवै सम्पती र व्यवसाय सीता देवी वरालको मेहनतको फल हो । तर हिजो उनको अवस्था आजको जस्तो थिएन, धेरै कष्टपुर्ण थिए ति दिनहरु ।

सामान्य बाल्यकाल
सीता देवी वरालको जन्म वि.सं.२०२९ साल मंशिर ५ गते कास्की जिल्लाको भरतपोखरी वडा नं. ३ मा पिता इन्द्र प्रसादको घरमा भएको थियो । वुवाका ७ जना छोराछोरीमा माइली सिताको वाल्यकाल सामान्य अवस्थामा नै वित्यो । वुवाको घरमा खान लाउनको कमि थिएन । औपचारिक पढाई भने ९ कक्षासम्म मात्र भयो । २०४७ सालमा विवाह वन्धनमा बाँधिइन् सीता ।

संघर्षको सुरुवात
परिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो । शुरुका केही समय त दुःख कष्ट जसोतसो गुजारा चल्यो । तर केही समयपछि भविष्यको कल्पनाले उनलाई सताउन थाल्यो । भविष्यलाई उज्यालो बनाउन त्यसै हात बाँधेर हुँदैन भनेर उनको परिवार पोखरा बजारमा झरेर भाडाको घरमा बस्न थाले । हातमा सिप अनि राम्रो शिक्षा नभएकाले उनले सजिलो कुनै काम पाउने कुरै भएन । आफ्नो घरव्यवहार चलाउनका लागि जे काम पाइन्छ त्यही काम गर्न थालिन् । समय क्रम वित्दै जाँदा उनका ४ सन्तान पनि भैसकेका थिए । एकपटक छोरा विरामी पर्दा एक सय रुपैयाँ सापट खोज्दा पनि छिमेकी र आफन्तबाट नपाएको उनी भावुक हुँदै सम्झन्छिन् । ‘धनसम्पत्ती विना कति गाह्रो छ यो संसारमा बाँच्न,’ उनी भन्छिन्, ‘पैसा नहुँदा नातागोता, साथीसंगती कोही पनि उनले कुखुरा फार्म, स्कुलमा पियनको काम पनि गरिन् । यी सबै कामबाट जीवन त जसो तसो चल्यो तर भविष्य भने अझै अन्धकार नै थियो । ‘अरुले आफैँले गाई भैसी पालेर दुध बेचेर परिवार चलाएको देख्दा आफुलाई पनि त्यस्तै गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनले सुनाइन्, ‘तर आफ्नो आम्दानीले दैनिक गर्जो टार्न समेत धौ धौ परेको थियो कसरी किन्नु गाई भैँसी ?’ आफन्त, चिनेजानेकासँग सरसापट गरि किन्ने सोच पनि उनलाई नआएको हैन , तर कस्ले पत्याउने ? छरछिमेकमा ऋण लिएर चलाउँ भने पनि कस्ले पत्याउने ? फेरि दिए पनि व्याज सयकडा पाँचको ब्याज र सावाँ एकमुष्ठ तिर्नुपर्ने सुन्दा नै अत्यास लाग्थ्यो उनलाई । आफ्नो भन्दा पनि उनलाई आफ्ना सन्तानको भविष्यको चिन्ताले दिनहुँ सताइरहन्थ्यो ।

सफलताको सुरुवात
“चोखोमनले चिताएको कुरा भगवानले पुर्याउछन्” भनेझैँ भयो एकदिन सिताको जीवनमा । २०६६ साल मंसिरको एकदिन छिमेकी लक्ष्मी गौतमले छिमेक लघुवित्तको वारेमा सुनाइन् । ऋण पनि पाइने किस्ता किस्ता तिर्न मिल्ने भनेपछि सिता औधि खुसि भइन् र तुरुन्तै दश जना छिमेकी दिदी वहिनी मिली समुह तालिममा सहभागी भइन् । २०६६ मंसिर १६ गते ईकाई नं.४०९१.०२.१ सदस्य बन्न पाउदा एकदमै खुसि भइन् । त्यहाँबाट उनले पहिलो पटक भैँसीपालनका लागी रु.१५ हजार ऋण लिइन् । सो ऋणमा आफुसँग भएको र आफन्तसँग लिएको रकम थप गरि भैँसि किनिन् । दैनिक ६ लिटर दुध ग्राहकका घरघरमा लगेर विक्री गर्न थालिन् । त्यसबाट आएको रकमले किस्ता तिर्न र घरखर्च गर्न पनि सजिलो भयो । दोश्रो, तेश्रो पटक लिएको ऋण पनि भैँसीपालनमा नै लगाइन् । अनुशासन ऋण, साधारण ऋण, स्पेशल ऋण लिएर पशुपालनमा नै लगाइन् । भैँसीको स्याहार गरि बचेको समयको सदुपयोग गरि आय बढाउन तरकारी खेतीको लागि पनि ऋण लिइन् । आफुले गरेको व्यवसाय सफल भएपछि अझ हौसला बढ्दै गयो उनमा । उनले तरकारी खेती र पशुपालनलाई नै विस्तार गर्दै गइन् । व्यवसाय विस्तारसँगै ऋण रकम पनि बढाउँदै लगिन् । २०७३ सालमा लघुउद्ममी विकास ऋण ३ लाख लिएर गाई भैसीको संख्या ७ वटा पुर्याइन् । आम्दानी बढेसँगै व्यवसाय बढ्दै गयो र रामबजारमा दुईवटा घर पनि बनाउन सफल भइन् ।

विगत ९ वर्षमा पटक पटक गरि सोह्रपटक ऋण लिएर आफ्नो व्यवसायलाई आजको अवस्थामा ल्याइन् सीतादेवीले । “मेरो परिश्रम देखेर मलाई आवश्यक परेको वखत छिमेकले ऋण उपलव्ध गराएर मजदुरवाट मालिक बनाउन ठुलो सहयोग गरेको छ । यस वित्तीय संस्थाले लगाएको गुण म कहिल्यै विर्सने छैन ।” भावुक हुँदै उनले भनिन् ।

उनी आफु मात्र उद्यमी भएकी छैनन्, वैदेशिक रोजगारीमा रहेका श्रीमान हरि प्रसाद वराललाई पनि स्वदेशमै फिर्ता बोलाइन् । ड्राइभरको लाइसेन्स लिने सल्लाह गरि हरि ट्याक्सी चालक बने । हाल उनी आफ्नै ट्याक्सी चलाएर खुसीसाथ घरपरिवारलाई सहयोग गरिरहेका छन् । उनी भन्छन्, “एकजनाको कमाईले परिवार पाल्न मात्र सकिन्छ तर दुवैजनाको कमाई भयो भने भविष्यलाई समेत सुनिश्चित गर्न सकिन्छ ।”
अहिले बराल दम्पत्तिका जेठो छोरा स्नातक तहमा पढ्दै छन् । अरु छोराछोरी पनि पढ्दै छन् । हाल उनको दुध व्यवसायवाट मासिक एक लाख २० हजार आम्दानी हुन्छ । अहिले भाडामा दिएको आफ्नै घरमा डेरी संचालन गर्ने उनको योजना छ । तरकारी खेतीवाट वार्षिक ५०/६० हजार आम्दानी हुन्छ । यसै वर्ष टनेल बनाएर तरकारी खेतीलाई अझ व्यवस्थित गर्ने अर्को योजना पनि छ । कुनै बेला भविष्यको चिन्तामा रहेकी सीतादेवि आज भविष्यको योजना सुनाउँदै भन्छिन्, “बुढेसकालको सहारा पेन्सन वचत छँदैछ । अहिले रु.१ हजारको पेन्सन छ । अब २ हजार थपेर ३ हजारको बनाउछु ।” प्रस्तुतकर्ता ः जीवन लामिछाने, शाखा प्रवन्धक, पोखरा शाखा