July 11th, 2019

सात शीर्षकमा साढे ४३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी

बैंकिङ खबर । चालू आर्थिक वर्षको नौ महिनामा विभिन्न सात शीर्षकमा साढे ४३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा तथा भूकम्पपीडितको निजी आवास निर्माणलगायतका विभिन्न शीर्षकमा कुल ३४ अर्ब ४१ करोड १० लाख ४९ हजार रुपैयाँ लगानी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यी सात शीर्षकका कर्जामध्ये व्यावसायिक कृषि कर्जामा मात्रै आकर्षण देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार जेठसम्म व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा ३३ अर्ब ९४ करोड २ लाख ५८ हजार रुपैयाँ लगानी भएको छ । जसमा वाणिज्य बैंकहरूले मात्रै ३१ अर्ब ७७ करोड १९ लाख ९७ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस शीर्षकमा १५ हजार ९ सय १६ जनाले लिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी,सबैभन्दा कम कर्जा शिक्षित युवा स्वरोजगार कर्जा लगानी भएको छ । यस शीर्षकमा जेठ महिनासम्म जम्मा ९३ लाख ५० हजार रुपैयाँ लगानी भएको छ । यस्तो कर्जा जम्मा १६ जनाले मात्रै लिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी,विदेशबाट फर्किएका ३२ युवाले जनाले २ करोड ३१ लाख रुपैयाँ कर्जा लिएका छन् । त्यस्तै,चालू आर्थिक वर्षको जेठ महिनासम्म उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा १६ करोड लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तो शीर्षकको कर्जा ५७ जनाले लिएका छन् । महिला उद्यमशीलता कर्जाका लागि ५ सय ३५ जनालाई ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ लगानी भएको छ । त्यसैगरी,दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा हालसम्म जम्मा २ करोड ७२ लाख २० हजार रुपैयाँ लगानी भएको देखिएको छ । यस्तो, कर्जा ४६ जनाले लिएका छन् ।

त्यस्तै, भूकम्प पीडितको निजी आवास निर्माणका लागि उपलब्ध गराउने कर्जाका लागि ७६ जनाले २ करोड ७८ लाख ७० हजार रुपैयाँको स्वीकृति पाएको राष्ट्र बैंकले जनाएको छ । २ करोड १८ लाख ७० हजार रुपैयाँ लगानी भएको छ । जेठसम्म यस्तो कर्जा लिनेको संख्या ७८ पुगेको छ । सहुलियतपूर्ण कर्जा वितरणका लागि सरकारले नयाँ कार्यविधि बनाएर वितरण सुरु गरेको थियो । सो कार्यविधिअनुसार गत असोजदेखि वितरण गरेकोे थियो ।

राजधानी दैनिक प्रत्रिकामा प्रकाशित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]