बैंकिङ खबर । गत साता वाणिज्य बैंकमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेसँगै बैंकमा निक्षेप पनि बढेको हो । पछिल्ला साताहरूमा बैंकहरूमा निक्षेप बढ्दो क्रममा छ । यसले बिस्तारै तरलता (लगानीयोग्य रकम) सहज बन्दै गएको बैंकरहरू बताउँछन् ।
अन्तर बैंक र सरकारी ट्रेजरी बिल्सको ब्याजदर घट्दै जानुले तरलता सहज रहेको पुष्टि हुने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ छ । असार १३ मा यस्तो निक्षेप २७ खर्ब ७६ अर्ब रुपैयाँ थियो । पछिल्ला तीन सातामा निक्षेप करिब ३४ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ मा वाणिज्य बैंकहरूमा २७ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
गत साताको निक्षेप सोही अवधिको पुँजीगत खर्चभन्दा बढी छ । बुधबारसम्म १ खर्ब ८४ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल विनियोजित पुँजीगत खर्चको ५७.२३ प्रतिशत मात्र हो । एक साताअघि (असार १७ मा) कुल पुँजीगत खर्च १ खर्ब ७० अर्ब रुपैयाँ (लक्ष्यको ५४.०९ प्रतिशत) थियो । यसले एक सातामा पुँजीगत खर्च १४ अर्ब ३२ करोड रुपैयाँले बढेको देखिन्छ ।
गएको तीन साता निक्षेपको वृद्धि राम्रो देखिए पनि ऋण प्रवाह भने न्यून छ । सो अवधिमा २८ वटा बैंक तथा वित्तीय संस्थाले कुल ८ अर्ब रुपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । जसमध्ये गत साता ५ अर्ब रुपैयाँ थप ऋण विस्तार भएको देखिन्छ ।
बजारमा ऋणको माग नभएर कर्जा कम गएको नभई असार मसान्त भएकाले अधिकांशले ऋण प्रवाह रोकेको बैंकरहरू बताउँछन् । गत शुक्रबारसम्म बैंकहरूको कुल ऋण प्रवाह २४ खर्ब ७६ अर्ब रुपैयाँ छ । एक साताअघि यस्तो लगानी २४ खर्ब ७१ अर्ब रुपैयाँ थियो ।
असार महिना आर्थिक वर्षको अन्त्य भएकाले पनि बैंकहरूले नयाँ ऋण विस्तार गर्न नचाहने भएकाले ऋण प्रावह कम देखिएको उनीहरूको भनाइ छ । ‘यो ऋण असुली गर्ने धेरैभन्दा धेरै मुनाफा संकलन गर्ने बेला हो,’ एक बैंकरले भने, ‘यो बेलामा बैंकहरूले सकेसम्म ऋण प्रवाह गर्न चाहँदैनन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामाबैंक तथा वित्तीय संस्थाको निक्षेप ११.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.१ प्रतिशतलेबढेको थियो ।
यस्तै गत वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.१ प्रतिशतले बढेको थियो ।
वार्षिक रूपमा हेर्दा वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १९.८ प्रतिशतले बढेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत छ । यस्तै कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशतरहेको छ । २०७५ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो ।