सरकारले उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी बढाउने नीति लिइरहँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने घर, गाडी र उपभोगमै बढी भइरहेको देखिएको छ । बैंकहरूको कुल कर्जाको आधाभन्दा बढी हिस्सा घर र गाडी किन्न तथा उपभोग गर्न नै प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाले कुल २८ खर्ब ५० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये १६ खर्ब ६८ अर्ब रुपैयाँ चार क्षेत्रमा मात्रै प्रवाह भएको देखिन्छ । यस अवधिमा ओभर ड्राफ्टमा १० खर्ब ६४ अर्ब, घरजग्गामा ३ खर्ब ७७ अर्ब, सेयर धितोमा ४३ अर्ब र हायर पर्चेज अटोमोबाइलमा १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
उल्लिखित चार क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक नभने पनि उत्पादक मानेको छैन । त्यसैले यी क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहित गराउन विभिन्न मौद्रिक उपकरणहरू ल्याउने गरेको छ । त्यस्तै, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन बाध्यकारी तथा प्रोत्साहनरूपी नीति लिँदै आएको छ । तर, बैंक तथा वित्तीय संस्थाले छिटो नाफा आउने भएकाले यिनै चार क्षेत्रमा कर्जा प्रवाहमा जोड दिएका छन् । यसरी उत्पादनमूलक क्षेत्रमा तुलनात्मक रूपमा कम कर्जा प्रवाह हुँदा पुँजी सिर्जना नभएर वित्तीय प्रणालीमा लगानीयोग्य तरलता अभाव लम्बिरहेको सरोकारवालाहरू बताउँछन् ।
ओभर ड्राफ्टमा आइएमएफको चासो
पछिल्ला ९ महिनामा ओभार ड्राफ्टमा मात्रै १० खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये अधिकांश कर्जा घरजग्गा, हायरपर्चेज, घुमफिर र उपभोगमै गएको देखिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘ओभर ड्राफ्टको कर्जा उत्पादनमा गएको देखिँदैन,’ ती अधिकारीले भने, ‘त्यसैले पनि यसमा हामीले कडाइ गर्ने नीति लिइरहेका छौँ ।’ हालै नेपाल भ्रमणमा आएका आइएमएफका प्रतिनिधिमण्डलले समेत ओभर ड्राफ्ट कर्जामा चासो देखाएको उनले जानकारी दिए । ‘आइएमएफले पनि ओभर ड्राफ्टमा धेरै कर्जा प्रवाह भएको भन्दै त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ,’ उनले भने, ‘यसमा थप कडा नीति आवश्यक देखिन्छ ।’
घरजग्गा र गाडीमै ५ खर्ब ६१ अर्ब
बैंक तथा वित्तीय संस्थाले घरजग्गा र गाडी किन्नमै ५ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको झन्डै २० प्रतिशत हुन आउँछ । राष्ट्र बैंकका अनुसार यो ९ महिनामा घरजग्गामा ३ खर्ब ७७ अर्ब २० करोड र अटोमोबाइलमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंक भन्छ, यस क्षेत्रको कर्जा घटाउँदै लगेका छौँ
राष्ट्र बैंकले घरजग्गा, अटोमोबाइल तथा ओभर ड्राफ्टको कर्जालाई घटाउँदै लगेको उल्लेख गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा भनिएको छ, ‘समष्टिगत विवेकशील नियमनको परिणामस्वरूप ०७५ असारको तुलनामा ०७५ चैत मसान्तमा कुल कर्जामा ओभरड्राफ्ट, घरजग्गा, हायरपर्चेज र मार्जिन प्रकृति कर्जाको अंशमा केही कमी आएको छ ।’
तर, उत्पादनमूलक क्षेत्रमा तोकिएको लगानी पुगेन
बैंक तथा वित्तीय संस्थाले घरजग्गा, अटोमोबाइल र ओभर ड्राफ्टमा कुल कर्जाको झन्डै ६० प्रतिशत कर्जा प्रवाह गरेका छन् । तर, बैंकहरूले उत्पादनमूलक क्षेत्रमा भने तोकिएअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । बैंकहरूले तोकिएको कृषिमा १० प्रतिशत, ऊर्जा र जलविद्युत् क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह गर्नैपर्ने व्यवस्था छ । यसरी तोकिएको उत्पादनमूलक क्षेत्रमा बैंकहरूले २५ प्रतिशत लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको छ । तर, गत चैत मसान्तसम्ममा यी क्षेत्रहरूमा कुल ४ खर्ब १७ अर्ब ८६ करोड कर्जा प्रवाह भएको छ । यो रकम सोही अवधिमा वाणिज्य बैंकबाट प्रवाह भएको कुल कर्जाको १७.१ प्रतिशत हो ।
उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउन आवश्यक छ
डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक
नेपाल अहिले उच्च शोधनान्तर घाटामा छ । हाम्रो बाह्य क्षेत्रमा केही चाप परेको छ । यस्तो वेलामा हामीले आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्छ । त्यसैले, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ । बैंकहरूले पनि अल्पकालीन फाइदाभन्दा दीर्घकालीन फाइदा र राष्ट्र हितलाई सोच्न आवश्यक छ । यसर्थ, बैंकहरूले ऊर्जा, पर्यटन, कृषि र उद्योगमा कर्जा प्रवाह बढाउनुपर्छ । नयाँ प्रत्रिका दैनिकमा प्रकाशित