बैंकिङ खबर । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा देशव्यापी रुपमा संचालन भइरहेको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम डडेलधुरामा भव्यताका साथ सम्पन्न भएको छ ।
कञ्चन डेभलपमेन्ट बैंक बैंकिङ पार्टनरको रुपमा रहेको उक्त कार्यक्रमको नेपाल राष्ट्र बैंकका निर्देशक एवं धनगढीका प्रमुख समेत रहनुभएका निश्चल अधिकारीले समुद्घाटन गर्नुभयो । डडेलधुरामा सम्पन्न यो कार्यक्रम सुदुर पश्चिममा वित्तीय जागरण राष्ट्रिय अभियानको तेस्रो कार्यक्रम हो । यस अघि कैलालीको अत्तरीया र कन्चनपुरको महेन्द्रनगरमा वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भइसकेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक तथा धनगढी प्रमुख निश्चल अधिकारीले सुदुर पश्चिममा वित्तीय जागरण कार्यक्रम अत्यावश्यक भएको बताउनुभयो । उहाँले वित्तीय साक्षरताको अभावमा आर्थिक विकास हुन नसक्ने बताउँदै यस्ता कार्यक्रमहरु गाउँ गाउँ सम्म लैजान नेपाल राष्ट्र बैंकले पहल गरिरहेको बताउनुभयो । सुदुर पश्चिममा ५० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर रहेको उल्लेख गर्दै उहाँले बैंकसम्म नागरिकको पहुँच वृद्धिका लागि वित्तीय जागरण कार्यक्रम संचालन गरिएको बताउनुभयो । बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले बैंकसम्म गएर खाता खोल्न र बैंकको सहयोगबाट उद्यमशीलता हासील गर्न आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रीय सदस्य तथा कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसीले डडेलधुरासम्म वित्तीय जागरण कार्यक्रम आएको सन्दर्भ उल्लेख गर्दै सो कार्यक्रमलाई आगामी दिनमा सुदुर पश्चिमका सबैजसो जिल्ला र ग्रामिण तहसम्म लैजाने बताउनुभयो । उहाँले वित्तीय साक्षरता दर नबढेसम्म देशमा आर्थिक विकास हुन नसक्ने भन्दै पैसालाई सही ढंगले सदुपयोग गर्नका लागि वित्तीय रुपमा आम नागरिक साक्षर हुनुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय जागरण राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक माधव निर्दोषले अबको समयमा कोही कसैले पनि पैसाको अभावमा उद्यमी बन्न पाइन भन्ने गुनासो गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले बैंक वित्तहरु गाउँ गाउँमा आएको प्रशंग उल्लेख गर्दै बैंक वित्त एवं लघुवित्तको माध्यमबाट उद्यमशीलता हासील गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । स्थानीय सरकारले आफ्नो ठाउँमा कुन कुन कुराको सम्भाव्यता छ त्यसको पहिचान गरेर बैंक वित्त सँग सहकार्य गरी उद्यमशीलताको विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो । उहाँँले यी कार्यक्रमहरु आगामी दिनमा अरु ग्रामिण तहसम्म लैजान विशेष पहल गरिने समेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उतर विष्ट, पत्रकार महासंघका डडेलधुराका जिल्ला अध्यक्ष मान बहादुर राउत लगायतले वित्तीय साक्षरताको महत्व बारे आफ्नो धारणा राख्नुभएको थियो ।
वित्तीय जागरण राष्ट्रिय अभियान चार वर्षदेखि लगातार रुपमा देशव्यापी रुपमा संचालन भइरहेको छ । बैंंक वित्त, बीमा र सेयरबजारको बारे आम नागरिकलाई जागरण फैलाउने तथा बैंकिङ कर्जा मार्फत उद्यमशीलताको विकास गर्ने यसको मुख्य लक्ष्य रहेको छ । नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रममा बीमा समिति, धितोपत्र बोर्ड, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, यूवा स्वरोजगार कोष तथा माइक्रो फाइनानस बैंकर्स संघको पनि सहकार्य रहँदै आएको छ । सो कार्यक्रम सामुहिक रुपमा वित्तीय जागरण फैलाउने राष्ट्रिय कार्यक्रम पनि हो । यसै कार्यक्रम अन्तर्गत काठमाडौं लगायतका विभिन्न ठाउँमा बैंंकिङ, बीमा र सेयरबजार प्रदर्शनी एवं बैंकिङ एक्स्पो समेत संचालन हुँदै आएका छन् ।




